पुरुषको शरीरमा भेटियो गर्भाशय, डाक्टरसमेत अचम्मित


एजेन्सी । भारतको नयाँदिल्लीमा २६ वर्षीय एक पुरुषको शरीरभित्र गर्भाशय र दुवै फेलोपियन ट्युब भेटिएको छ। विवाह भएको दुई वर्षसम्म सन्तान नभएपछि उपचारका लागि अस्पताल पुगेका उनको परीक्षणका क्रममा यस्तो दुर्लभ जन्मजात अवस्था पत्ता लागेको हो।

बाहिरी शारीरिक बनावट र पुरुषका लैङ्गिक विशेषता सामान्य भए पनि सन्तान नहुने समस्याको परीक्षण गर्दा उनका दुवै अण्डकोष सामान्य स्थानमा नरहेको पाइएको थियो। हर्मोन परीक्षणमा टेस्टोस्टेरोन, एफएसएच र एलएचको स्तर सामान्य देखिए पनि वीर्य परीक्षणमा शुक्रकीटको संख्या शून्य अर्थात् एजुस्पर्मिया देखिएको चिकित्सकले बताएका छन्।

त्यसपछि गरिएको एमआरआईमा गर्भाशय र दुवै फेलोपियन ट्युब देखिए। ती संरचना अण्डकोषसँग जोडिएका थिए। थप परीक्षणका क्रममा उनको क्रोमोजोम ४६ एक्सवाई रहेको पुष्टि भयो।

नयाँदिल्लीस्थित निजी अस्पतालका प्रमुख युरोलोजिस्ट डा. सुशील खरबन्दाका अनुसार यो ‘पर्सिस्टेन्ट म्युलरियन डक्ट सिन्ड्रोम’ (पीएमडीएस) नामक अत्यन्त दुर्लभ जन्मजात अवस्था हो। यस अवस्थामा ४६ एक्सवाई क्रोमोजोम भएका व्यक्तिमा पुरुषका बाह्य शारीरिक विशेषता विकसित भए पनि गर्भाशय र फेलोपियन ट्युबजस्ता संरचना शरीरभित्र रहन सक्छन्।

सामान्य पुरुष भ्रूणको विकासका क्रममा एन्टिम्युलरियन हर्मोन (एएमएच) ले गर्भाशय र फेलोपियन ट्युब बन्ने संरचनाको विकास रोक्छ। तर पीएमडीएसमा एएमएच उत्पादन वा त्यसको रिसेप्टरमा समस्या हुँदा ती संरचना शरीरभित्रै रहन सक्छन्।

चिकित्सकका अनुसार उक्त पुरुषको शरीरमा गर्भाशय र फेलोपियन ट्युब भए पनि अण्डाशय थिएन। ती प्रजनन अंग अविकसित र कार्यहीन अवस्थामा थिए। भविष्यमा क्यान्सरको जोखिम हुन सक्ने भएकाले शल्यक्रियामार्फत गर्भाशय, फेलोपियन ट्युब र अण्डकोष हटाइएको हो।

शल्यक्रियापछि गरिएको बायोप्सीमा एउटा अण्डकोषमा क्यान्सरपूर्व अवस्था देखिएको चिकित्सकले बताएका छन्। ल्याप्रोस्कोपिक प्रविधिबाट शल्यक्रिया गरिएकाले बिरामी सात दिनपछि नै काममा फर्किएका थिए।

अण्डकोष हटाइएपछि शरीरले प्राकृतिक रूपमा टेस्टोस्टेरोन उत्पादन नगर्ने भएकाले उनलाई प्रत्येक तीन महिनामा टेस्टोस्टेरोनको सुई लगाउनुपर्ने चिकित्सकले बताएका छन्। तर शरीरभित्र गर्भाशय र फेलोपियन ट्युब रहेको भन्दै उनी गर्भवती हुन वा महिनावारी हुन सक्ने भने होइनन्।

चिकित्सकका अनुसार पीएमडीएस भएका व्यक्तिमा सधैँ स्पष्ट लक्षण देखिन आवश्यक छैन। विशेषगरी अण्डकोष सामान्य स्थानमा नरहनु यसको सम्भावित संकेत हुन सक्छ। त्यसैले बालबालिकामा अण्डकोष शरीरभित्रै रहेको वा अन्य असामान्य शारीरिक संरचना देखिएमा समयमै विशेषज्ञ चिकित्सकबाट परीक्षण गराउनु महत्त्वपूर्ण हुने चिकित्सकहरूको भनाइ छ।