काठमाडौँ । विश्व फुटबलको पर्दापछाडिका गोप्य गतिविधि सार्वजनिक गरेर चर्चामा आएका पोर्चुगिज कम्प्युटर ह्याकर रुई पिन्टो फेरि चर्चाको केन्द्रमा छन्।
सन् २०१५ मा पिन्टोले ‘फुटबल लिक्स’ नामक वेबसाइट सुरु गरेका थिए। त्यसमार्फत उनले फुटबल क्लब, खेलाडी र एजेन्टसँग सम्बन्धित लाखौँ गोप्य दस्तावेज तथा इमेल सार्वजनिक गरे। तीमध्ये म्यानचेस्टर सिटीका प्रायोजन सम्झौता, भुक्तानी र आर्थिक गतिविधिसँग सम्बन्धित आन्तरिक विवरणसमेत थिए।
यिनै सामग्री प्रिमियर लिगले सिटीमाथि लगाएको वित्तीय नियम उल्लंघनसम्बन्धी ११५ आरोपको आधारमध्ये एक बनेको थियो। शुक्रबार सार्वजनिक निर्णयअनुसार सिटी अधिकांश आरोपमा दोषी ठहर भएको समाचार आएपछि पिन्टोले सार्वजनिक गरेका दस्तावेजको चर्चा फेरि चुलिएको छ।
तर पिन्टोको परिचय ‘ह्याकर’मै सीमित छैन। फुटबल जगत्मा उनलाई लिएर दुई फरक धारणा छन्। एकथरीले उनी गैरकानुनी रूपमा सूचना चोरी गर्ने व्यक्ति भएको बताउँछन् भने अर्काथरीले फुटबलको पर्दापछाडिका गतिविधि सार्वजनिक गर्ने ‘ह्विसलब्लोअर’का रूपमा हेर्छन्।
पिन्टोले फुटबल लिक्समार्फत सुरुमा पोर्चुगलका बेन्फिका र एफसी पोर्टोसँग सम्बन्धित सूचना सार्वजनिक गरेका थिए। पछि क्रिस्टियानो रोनाल्डो, लियोनल मेसी, नेयमारसहित ठूला क्लब र एजेन्टका दस्तावेज पनि सार्वजनिक भए।
पछि उनले जर्मन पत्रिका ‘डेर स्पिगल’का पत्रकारसँग सम्पर्क गरी ठूलो मात्रामा डिजिटल सामग्री उपलब्ध गराए। उनले ३ टेराबाइटभन्दा बढी सूचना उपलब्ध गराएको बताइएको छ। पत्रकारहरूले ती सामग्रीको प्रमाणीकरण र विभिन्न स्रोतसँग तुलना गरेर समाचार प्रकाशित गरेका थिए।
पिन्टोको गतिविधिले उनको निजी जीवनमा भने ठूलो असर पारेको छ। सन् २०१९ मा हंगेरीमा पक्राउ परेका उनलाई पोर्चुगल सुपुर्दगी गरिएको थियो। त्यसपछि उनी क्वारेन्टाइन, घरमै नजरबन्द र साक्षी संरक्षण कार्यक्रमअन्तर्गत बसे।
उनलाई विभिन्न मुद्दामा गैरकानुनी रूपमा डेटा पहुँच, सञ्चारको गोपनीयता भंग तथा अन्य अभियोगमा दोषी ठहर गर्दै निलम्बित जेल सजायसमेत सुनाइएको छ। यद्यपि उनका समर्थकहरूले सार्वजनिक हितमा महत्वपूर्ण सूचना बाहिर ल्याएको भन्दै उनको भूमिका फरक ढंगले व्याख्या गर्छन्।
पिन्टोका पूर्व शिक्षकदेखि पत्रकार र राजनीतिज्ञसम्मले उनको व्यक्तित्व र गतिविधिबारे फरक–फरक धारणा राखेका छन्। कसैले उनलाई ‘रोबिन हुड’जस्तै देखेका छन् भने कसैले गैरकानुनी रूपमा सूचना प्राप्त गर्ने अपराधीका रूपमा।
म्यानचेस्टर सिटीसम्बन्धी पछिल्लो घटनाक्रमले भने एक दशकअघि सुरु भएको ‘फुटबल लिक्स’ प्रकरणको प्रभाव अझै समाप्त नभएको देखाएको छ। पिन्टोले सार्वजनिक गरेका दस्तावेजले विश्व फुटबलको आर्थिक कारोबार, क्लब व्यवस्थापन र पर्दापछाडिका गतिविधिबारे उठाएका प्रश्न अझै चर्चामै छन्।


















प्रतिक्रिया