चोलेन्द्रलाई पक्राउ गर्ने आधार खोज्दै सोडारी, ‘सुरक्षा थ्रेटको प्रमाण देखाऊ’


काठमाडौँ । पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरालाई ‘जेन्जीबाट सुरक्षा थ्रेट’ रहेको भन्दै सार्वजनिक भएका समाचार तथा दाबीप्रति जेन्जी अभियन्ता अजय सोडारीले आपत्ति जनाएका छन्।

वक्तव्य जारी गर्दै सोडारीले कुनै पनि जेन्जी अभियान, समूह वा व्यक्तिले जबरालाई धम्की, डर–त्रास वा सुरक्षा खतरा नदिएको दाबी गरेका छन्।

उनले भनेका छन्, ‘कुनै पनि जेन्जी अभियान, समूह वा व्यक्तिले पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरालाई कुनै किसिमको धम्की, डर–त्रास वा सुरक्षा खतरा दिएको छैन र यसबारे हाम्रो जानकारीमा पनि केही छैन।’

जबरामाथि वास्तवमै सुरक्षा थ्रेट रहेको भए त्यसको आधार र प्रमाण सार्वजनिक गर्नुपर्ने सोडारीको माग छ। कसले, कहिले र कस्तो किसिमको धम्की दिएको हो भन्ने तथ्य सम्बन्धित निकायले स्पष्ट पार्नुपर्ने उनले बताएका छन्।

जेन्जी आन्दोलनलाई अपराध, हिंसा वा धम्कीसँग जोडेर बदनाम गर्ने प्रयास स्वीकार्य नहुने सोडारीले बताएका छन्। राज्यका निकायबाटै जेन्जी अभियानलाई आपराधिक गतिविधिसँग जोड्ने वातावरण बनाइनु गम्भीर विषय भएको उनको भनाइ छ।

सुरक्षा संवेदनशीलताको नाममा अस्पष्ट आरोप लगाउने र त्यसबारे नागरिकलाई जानकारी नदिने प्रवृत्तिले विधिको शासन, कानुनी प्रक्रिया तथा राज्यको जवाफदेहितामाथि प्रश्न उठाउने उनको दाबी छ।

सरकार र प्रहरीसँग उनले जबरालाई ‘जेन्जीबाट सुरक्षा थ्रेट’ रहेको भनिएको आधार तथा प्रमाण तत्काल सार्वजनिक गर्न माग गरेका छन्।