अतिकम विकसित राष्ट्रको सूचीबाट हट्न नेपालले माग्यो थप समय


काठमाडौं । नेपालले अतिकम विकसित राष्ट्र (एलडीसी) को सूचीबाट स्तरोन्नतिका लागि थप समय माग गरेको छ।संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा सहभागी हुने क्रममा प्रधानमन्त्री बालेन्द्र शाहले संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेससँगको भेटमा स्तरोन्नतिको समयसीमा थप गर्न समर्थन मागेका हुन्।

प्रधानमन्त्री शाह र महासचिव गुटेरेसबीच भएको भेटवार्तामा नेपालको एलडीसीबाट स्तरोन्नतिको समयसीमा थप गर्ने विषयमा छलफल भएको परराष्ट्र मन्त्रालयले जनाएको छ।

परराष्ट्र मन्त्रालयका अनुसार भेटमा नेपालले अतिकम विकसित राष्ट्रको सूचीबाट स्तरोन्नतिका लागि थप समय उपलब्ध गराउन आवश्यक समर्थनको विषय उठाएको थियो।

भेटका क्रममा महासचिव गुटेरेसले पछिल्लो भोटेकोशी बाढीबाट भएको जनधनको क्षतिप्रति दुःख व्यक्त गर्दै नेपालप्रति समवेदना प्रकट गरेका थिए। उनले जलवायु परिवर्तनका मुद्दामा संयुक्त राष्ट्रसंघ नेपालसँग ऐक्यबद्ध रहेको बताएका थिए।

परराष्ट्र मन्त्रालयले संयुक्त राष्ट्रसंघमा नेपालको सक्रिय सहभागिताले अन्तर्राष्ट्रियस्तरमा नेपालको प्रतिष्ठा अभिवृद्धि भएको जनाएको छ।