न्युयोर्क। चिनियाँ राष्ट्रपति सी चिनफिङको तीनदिने अमेरिका भ्रमणका क्रममा चीन र अमेरिकाबीच द्विपक्षीय सम्बन्धलाई स्थिर बनाउने उद्देश्यसहित ८ बुँदे सहमति भएको छ।
चिनियाँ सरकारी समाचार संस्था सिन्ह्वाका अनुसार सहमतिको पहिलो बुँदामा पारस्परिक सम्मान, निष्पक्षता र पारस्परिकताका आधारमा रचनात्मक तथा रणनीतिक रूपमा स्थिर चीन–अमेरिका सम्बन्ध निर्माण गर्ने विषय समेटिएको छ।
चिनियाँ विदेशमन्त्री वाङ यीले पारस्परिक सम्मान भन्नाले एकअर्काको सार्वभौमिकता, क्षेत्रीय अखण्डता, सामाजिक व्यवस्था, विकासको बाटो तथा मूलभूत हित र प्रमुख चासोको सम्मान गर्नु रहेको बताएका छन्।
सहमतिको दोस्रो बुँदामा चीनले नोभेम्बरमा आयोजना गर्ने एपीईसी आर्थिक नेताहरूको बैठक र अमेरिकाले डिसेम्बरमा आयोजना गर्ने जी–२० शिखर सम्मेलन सफल बनाउन दुवै पक्षले सहयोग गर्ने उल्लेख छ। दुवै नेताले एकअर्काले आयोजना गर्ने कार्यक्रममा सहभागी हुने इच्छा पनि व्यक्त गरेका छन्।
त्यस्तै, इरानले आणविक हतियार विकास नगर्ने प्रतिबद्धता पालना गर्नुपर्नेमा दुवै पक्ष सहमत भएका छन्। अन्तर्राष्ट्रिय जलमार्गमा आवतजावत गरेबापत कुनै देश वा संस्थाले पारवहन शुल्क लिन नहुने विषय पनि सहमतिमा समेटिएको छ।
आर्थिक तथा व्यापारिक क्षेत्रमा पछिल्ला वार्ताबाट भएका सहमति कार्यान्वयन गर्ने, व्यापारसम्बन्धी संयन्त्र स्थापना तथा विस्तार गर्ने र ३० अर्ब अमेरिकी डलर बराबरको पारस्परिक कर कटौती व्यवस्था अघि बढाउने विषयमा पनि समझदारी भएको छ।
दुवै देशले लागुऔषध नियन्त्रणसम्बन्धी कानुन कार्यान्वयनमा सहकार्यलाई निरन्तरता दिने भएका छन्। हालै नयाँ प्रकारका मनोसक्रिय पदार्थ तथा तिनका पूर्वरसायनसम्बन्धी मुद्दामा दुवै देशका निकायले संयुक्त अनुसन्धान गरेको चिनियाँ पक्षले जनाएको छ।
कृत्रिम बौद्धिकता (एआई) का जोखिम तथा सम्भावित लाभबारे छलफल गर्न चीन र अमेरिकाबीच नयाँ संवाद संयन्त्र स्थापना गर्ने सहमति भएको छ। एआईसँग सम्बन्धित आकस्मिक घटनामा प्रत्यक्ष सम्पर्कका लागि छुट्टै सञ्चार माध्यम स्थापना गर्ने र आगामी संवाद नोभेम्बरमा गर्ने सहमति पनि भएको छ।
सहमतिको अर्को बुँदामा दोस्रो विश्वयुद्धका बेला चीन र अमेरिका सहयोगी राष्ट्र रहेको इतिहास स्मरण गरिएको छ। साथै, संकटका बेला दुई देशका सेनाबीच सञ्चार र संकट रोकथामलाई बलियो बनाउन समझदारीपत्रमा हस्ताक्षर गर्ने तथा बेपत्ता अमेरिकी सैनिकका अवशेष खोजीमा सहकार्य जारी राख्ने सहमति भएको छ।
यसैबीच, अमेरिकाको एटलान्टा चिडियाखानामा चीनले भाडामा दिने दुई जायन्ट पाण्डा पुग्न लागेको विषयलाई पनि सहमतिमा समेटिएको छ।
चिनियाँ पक्षले राष्ट्रपति सीको अमेरिका भ्रमणले संवाद, व्यापार, सुरक्षा, एआई र अन्तर्राष्ट्रिय मामिलामा सहकार्यका लागि दुई देशबीच थप आधार तयार गरेको जनाएको छ।


















प्रतिक्रिया