काठमाडौँ । संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा सहभागी हुन न्युयोर्क पुगेका परराष्ट्र मन्त्री शिशिर खनालले नेपालले विश्व मञ्चमा नेतृत्वदायी भूमिका निर्वाह गर्नसक्छ भन्ने सन्देश दिएको बताएका छन्।
अनलाइनखबरसँगको कुराकानीमा मन्त्री खनालले यसपटकको महासभामा नेपालको सहभागिता विपद्को पृष्ठभूमिमा भएको बताए। रसुवा बाढीलगायतका विपद्बाट भएको क्षति, उद्धार, राहत तथा पुनर्निर्माणका विषयलाई नेपालले अन्तर्राष्ट्रिय समुदायसमक्ष प्रस्तुत गरेको उनको भनाइ छ।
उनका अनुसार विपद्पछिको तत्कालीन उद्धार र राहतसँगै पुनर्निर्माणका लागि आवश्यक स्रोत तथा सहयोगबारे नेपालले मित्रराष्ट्र र समकक्षीहरूसँग छलफल गरेको छ।
प्रधानमन्त्री बालेन शाहले महासभालाई सम्बोधन गर्दै जलवायु परिवर्तनका कारण नेपालले भोगिरहेको संकट र हिमालय क्षेत्रमा बढ्दो जोखिमबारे विश्व समुदायको ध्यानाकर्षण गराएका थिए। नेपालले जलवायु न्यायको विषयलाई समेत अन्तर्राष्ट्रिय मञ्चमा प्राथमिकताका साथ उठाएको मन्त्री खनालले बताए।
नेपालले भारत र चीनसँग सहकार्य गरी ‘हिमालयन क्लाइमेट रिजिलियन्स मेकानिज्म’ निर्माण गर्ने प्रस्तावसमेत अघि सारेको छ। हिमालय क्षेत्रमा जलवायु परिवर्तनबाट उत्पन्न जोखिमको सामना गर्न क्षेत्रीय सहकार्य आवश्यक रहेको नेपालको धारणा छ।
महासभाका क्रममा प्रधानमन्त्री शाहले संयुक्त राष्ट्रसंघका महासचिवसँग द्विपक्षीय भेटवार्ता समेत गरेका थिए। भेटवार्तामा नेपालमा भएका पछिल्ला विपद्, जलवायु परिवर्तन तथा त्यसबाट प्रभावित हिमाली क्षेत्रका विषयमा छलफल भएको जनाइएको छ।
मन्त्री खनालका अनुसार महासभामा नेपालको सहभागिता केवल आफ्ना समस्या राख्ने विषयमा सीमित नभई विश्वव्यापी मुद्दामा नेपालले योगदान गर्नसक्ने क्षमता प्रस्तुत गर्ने अवसरका रूपमा समेत रहेको छ।


















प्रतिक्रिया