काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले अविरल वर्षाका कारण देशका विभिन्न स्थानमा आएको बाढी, पहिरो र डुबानबाट भएको जनधनको क्षतिप्रति दुःख व्यक्त गरेको छ।
रास्वपाले विपद्मा परी ज्यान गुमाएकाहरूप्रति श्रद्धाञ्जली तथा शोकसन्तप्त परिवारप्रति समवेदना व्यक्त गर्दै घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गरेको छ।
पार्टीले विपद् जोखिम न्यूनीकरणका लागि सरकारले गरेको पूर्वतयारी तथा नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बललगायत सम्बन्धित निकायले गरिरहेको उद्धार कार्यप्रति आभार व्यक्त गरेको छ। विपद्को जोखिम अझै कायम रहेकाले नदी तटीय तथा पहिरोको जोखिमयुक्त क्षेत्रमा रहेका नागरिकलाई उच्च सतर्कता अपनाउन पनि रास्वपाले आग्रह गरेको छ।
रास्वपाले प्रभावित क्षेत्रमा राहत वितरण, बेपत्ता नागरिकको खोजी तथा घाइतेको उपचारलाई थप तीव्रता दिन सरकारसँग आग्रह गरेको छ। साथै, अवरुद्ध राजमार्ग तत्काल सञ्चालनमा ल्याउन तथा घरबारविहीन नागरिकको सुरक्षित आवास र पुनःस्थापनामा ढिलाइ नगर्न तीनै तहका सरकारको ध्यानाकर्षण गराएको छ।
विपद्को अवस्थामा प्रभावित क्षेत्रमा आमनागरिकको सेवामा सक्रिय हुन पार्टीका नेता, सदस्य, शुभचिन्तक, ¥यापिड एक्सन टिमलगायत सम्बन्धित क्षेत्रका सबैलाई रास्वपाले आह्वान गरेको छ।



















प्रतिक्रिया