बागलुङ । अविरल वर्षापछि आएको पहिरोमा परी बागलुङमा १० जनाको मृत्यु भएको छ भने एक जना बेपत्ता छन्। पछिल्लो दुई दिनमा पहिरोका कारण जिल्लामा ठूलो मानवीय क्षति भएको हो।
जिल्ला प्रहरी कार्यालय बागलुङका प्रहरी प्रमुख फणिन्द्र प्रसाईँका अनुसार आइतबार मात्रै तमानखोला गाउँपालिकामा चार र निसीखोला गाउँपालिकामा पाँच जनाको मृत्यु भएको छ। तमानखोलामा एक जना बेपत्ता छन्। शनिबार ताराखोला गाउँपालिकामा एक जनाको मृत्यु भएको थियो।
तमानखोला गाउँपालिका–३ धर्नासुकमा पहिरोले घर पुरिँदा ८० वर्षीय बुद्धिराज घर्ती र ६६ वर्षीया भीमदेवी घर्तीको मृत्यु भएको छ। सोही क्षेत्रमा पहिरोले आठ वटा घरसमेत बगाएको प्रहरीले जनाएको छ।
तमानखोला–४ सन्तरमा पहिरोले घर पुरिँदा ५० वर्षीय हस्तवीर श्रीपाली र ६५ वर्षीया उडिसरा श्रीपालीको मृत्यु भएको छ। हस्तवीरकी श्रीमती भने पहिरोमा परी बेपत्ता भएकी छन्।
यस्तै, निसीखोला गाउँपालिका–३ जुग्जाखोलाको हदधारामा पहिरोले घर पुरिँदा एकै परिवारका चार जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा ३६ वर्षीया श्यामकुमारी विक, उनका १३ वर्षीय छोरा मनोज, आठ वर्षीय मुकेश र तीन वर्षीय निशान विक रहेका छन्।
निसीखोला गाउँपालिका–६ रङ्गिलमा पहिरोले गोठ पुरिँदा ५० वर्षीय सूर्यबहादुर घर्तीको मृत्यु भएको छ। यसअघि शनिबार ताराखोला गाउँपालिका–५ धस्मरमा पहिरोले घर पुरिँदा ५९ वर्षीय मनबहादुर रोकाको मृत्यु भएको थियो।
प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद आचार्यका अनुसार पूर्वसूचनाका कारण थप मानवीय क्षति हुनबाट जोगिएको छ। पहिरो प्रभावित क्षेत्रमा उद्धारका लागि नेपाली सेनाको हेलिकप्टरसहित सुरक्षा अधिकारीको टोली परिचालन गरिएको छ।



















प्रतिक्रिया