काठमाडौँ । पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको पक्राउ र रिहाइको विषय प्रतिनिधिसभाको सोमबारको बैठकमा उठेको छ ।
श्रम संस्कृति पार्टीका सांसद ध्रुवराज राईले पूर्वप्रधानन्यायाधीशजस्तो गरिमामय पदमा बसेका व्यक्तिलाई पक्राउ गर्ने र भोलिपल्टै रिहा गर्ने सरकारी शैलीप्रति प्रश्न उठाएका हुन् ।
संसद्मा बोल्दै राईले जबराको पक्राउ सामान्य विषय नभएको भन्दै यस्ता गम्भीर घटनामा राज्य संयन्त्रले पर्याप्त आधार र तथ्यका आधारमा मात्रै कानुनी प्रक्रिया अघि बढाउनुपर्ने बताए ।
‘पूर्वप्रधानन्यायाधीशलाई पक्राउ गर्ने, अनि भोलिपल्टै छोड्ने ? यो पक्राउ हो कि केटाकेटी खेल्ने खेल हो ? सरकारले यस्ता गम्भीर विषयमा नौटङ्की गर्न छोड्नुपर्छ,’ उनले भने ।
राईले कुनै व्यक्तिलाई पक्राउ गर्नुअघि घटनाको गम्भीरता, आधार र तथ्यपूर्ण अनुसन्धानलाई ध्यान दिनुपर्ने बताए । पक्राउ गरेर तत्कालै रिहा गर्ने कार्यशैलीले न्याय प्रणाली तथा सरकारी निकायप्रतिको विश्वसनीयतामाथि प्रश्न उठ्ने उनको भनाइ थियो ।
उनले राज्यका निकायले संवेदनशील विषयमा जिम्मेवार र स्पष्ट ढंगले काम गर्नुपर्नेमा जोड दिए ।



















प्रतिक्रिया