पूर्वप्रधानन्यायाधीश पक्राउ प्रकरणप्रति नेकपाको आपत्ति


काठमाडौँ । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) ले पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको पक्राउ र रिहाइ प्रकरणलाई लिएर सरकारको कार्यशैलीमाथि प्रश्न उठाएको छ ।

प्रतिनिधिसभाको सोमबारको बैठकमा नेकपाका प्रमुख सचेतक युवराज दुलालले जबरालाई मध्यरातमा पक्राउ गरेर १२ घण्टा नबित्दै रिहा गरिएको भन्दै आपत्ति जनाए । उनले पक्राउको आधार र कानुनी प्रक्रियामाथि प्रश्न उठाउँदै सरकारको कदमले कानुनी राज्य र न्याय प्रणालीप्रति गम्भीर प्रश्न खडा गरेको बताए ।

‘बिना पक्राउ पुर्जी, बिना कारण मध्यरातमा पक्राउ गर्ने अनि १२ घण्टा नबित्दै छोड्ने ? यो कस्तो कानुनी राज्य हो ? सरकारले कुन स्टन्ट देखाउन खोजेको हो ?’ दुलालले प्रश्न गरे ।

उनले पक्राउपछि सुरक्षाको खतरा देखाउँदै रिहा गर्ने सरकारी कार्यशैलीप्रति समेत असन्तुष्टि जनाए । राज्य संयन्त्रको प्रयोग गर्दा स्पष्ट कानुनी प्रक्रिया र आधार प्रस्तुत गर्नुपर्नेमा जोड दिँदै दुलालले सरकारलाई यस्तो कार्यशैली दोहोर्‍याउन नहुने बताए ।

बैठकमा दुलालले प्राकृतिक विपद्का कारण देशका विभिन्न स्थानमा भएको जनधनको क्षतिप्रति समेत सरकारको ध्यानाकर्षण गराए । बाढीपहिरो प्रभावित नागरिकलाई तत्काल राहत, उद्धार तथा अस्थायी व्यवस्थापनको काम अघि बढाउन उनले सरकारसँग माग गरे ।

उनले विपद्का बेला सरकारको प्राथमिकता राहत र उद्धारमा केन्द्रित हुनुपर्ने भन्दै राज्य संयन्त्रको प्रयोगलाई राजनीतिक प्रदर्शनको विषय नबनाउन सरकारलाई आग्रह गरे ।