काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको मध्यरातमा भएको पक्राउप्रति आपत्ति जनाएको छ ।
प्रतिनिधिसभाको सोमबारको बैठकमा आकस्मिक समयमा बोल्दै राप्रपा सांसद भरत गिरीले जबराको पक्राउमा राज्य संयन्त्रको दुरुपयोग भएको आरोप लगाए । उनले कानुनी प्रक्रिया मिचेर गरिएको गिरफ्तारीले विधिको शासनमाथि प्रश्न उठाएको बताए ।
गिरीले पूर्वप्रधानन्यायाधीशजस्तो सम्मानित पदमा बसेका व्यक्तिलाई रातको समयमा निवासबाट पक्राउ गर्ने शैलीप्रति असन्तुष्टि जनाए । ‘सरकारले पूर्वप्रधानन्यायाधीश जबरालाई जसरी मध्यरातमा घरबाटै अपहरण शैलीमा पक्राउ गर्यो, यो राज्य आतङ्कको बर्बर नमुना हो,’ उनले भने ।
उनले राप्रपा कानुन र विधिको शासनको पक्षमा रहेको तर कानुनको आडमा प्रतिशोधको राजनीति स्वीकार्य नहुने बताए । राज्यले शक्ति प्रयोग गर्दा पारदर्शिता र कानुनी प्रक्रिया पालना गर्नुपर्नेमा उनले जोड दिए ।
गिरीले सरकार गठन भएयता पूर्वप्रधानमन्त्री, पूर्वपदाधिकारी तथा संवैधानिक निकायका प्रमुखहरूलाई लक्षित गरी पक्राउका घटना दोहोरिएको दाबी गरे । रातको समयमा पूर्वपदाधिकारीलाई पक्राउ गर्ने शैलीले सरकारको लोकतान्त्रिक चरित्रमाथि प्रश्न उठाएको उनको भनाइ थियो ।
उनले राज्यका निकायले कानुन कार्यान्वयन गर्दा नागरिकको अधिकार, मानव मर्यादा र विधिको शासनको सम्मान गर्नुपर्ने बताए ।



















प्रतिक्रिया