मनाङको अवस्था भयावह, तत्काल उद्धार र राहत आवश्यक : सांसद गुरुङ


काठमाडौँ । नेपाली कांग्रेसका सांसद टेकबहादुर गुरुङले अविरल वर्षापछि मनाङमा उत्पन्न भयावह अवस्थाबारे सरकारको ध्यानाकर्षण गराएका छन्।

सोमबार प्रतिनिधिसभाको बैठकमा आकस्मिक समयमा बोल्दै सांसद गुरुङले असोज ८ देखि ११ गतेसम्म परेको अविरल वर्षाका कारण मनाङको जनजीवन अस्तव्यस्त बनेको बताए। उनका अनुसार सदरमुकाम चामे क्षेत्रमा आधा दर्जनभन्दा बढी घर बाढीले बगाएको छ भने मर्स्याङ्दी नदीको बहावले सडक र मोटरेबल पुलमा समेत क्षति पुगेको छ।

उनले मर्स्याङ्दी नदी थुनिएपछि मनाङ जाने मुख्य सडक अवरुद्ध भएको तथा तातोपानी आसपासका घर डुबानमा परेपछि स्थानीयलाई सुरक्षाकर्मीको सहयोगमा सुरक्षित स्थानमा सारिएको जानकारी दिए। नासोङ गाउँपालिकामा पनि डेढ दर्जनभन्दा बढी घरमा नदीले क्षति पुर्‍याएको र दर्जनौँ पुल–पुलेसा बगाउँदा आवतजावत ठप्प भएको उनले बताए।

बाढीपहिरोका कारण निसाङ र नार्पाभूमि गाउँपालिकामा विद्युत् तथा टेलिफोन सेवा अवरुद्ध हुँदा स्थानीयसँग सम्पर्कसमेत विच्छेद भएको सांसद गुरुङले बताए। उद्धार तथा राहत कार्यमा समेत यसले कठिनाइ भएको उनको भनाइ छ।

त्यस्तै, हिमाल चढ्ने तयारीमा रहेका तथा हिमालबाट फर्किएका २७ जना नेपाली पर्यटकमध्ये दुई जनाको मृत्यु भएको, ११ जना सम्पर्कमा आएको र १४ जना अझै सम्पर्कविहीन रहेको जानकारी प्राप्त भएको उनले बताए।

सडक तथा पदमार्ग अवरुद्ध हुँदा मनाङका विभिन्न स्थानमा सयौँ आन्तरिक तथा बाह्य पर्यटक अलपत्र परेको सांसद गुरुङले बताए। बाढीपहिरोबाट सडक, पुल तथा पदमार्गमा भएको क्षतिले पर्यटन व्यवसायसँगै स्थानीय अर्थतन्त्रमा समेत गम्भीर असर परेको भन्दै उनले तत्काल उद्धार, राहत तथा पुनःस्थापनामा ध्यान दिन सरकारसँग आग्रह गरे।