सांसदहरूको जोड– चाडपर्वमा यात्रु ठगिन नदिन र दुर्घटना रोक्न विशेष ध्यान देऊ


काठमाडौँ । आसन्न चाडपर्वमा यात्रु ठगी रोक्न तथा सडक र ट्राफिक पूर्वाधार सुधार गरी दुर्घटना न्यूनीकरण गर्न सांसदहरूले सरकारको ध्यानाकर्षण गराएका छन्।

सोमबार प्रतिनिधिसभाको पूर्वाधार विकास समितिको बैठकमा सांसदहरूले चाडपर्व लक्षित अस्थायी व्यवस्थापनमा मात्र सीमित नभई मुलुकको यातायात क्षेत्रलाई दीर्घकालीन र व्यवस्थित बनाउनुपर्नेमा जोड दिएका हुन्।

बैठकमा रास्वपा सांसद मञ्जु भुसालले चाडपर्व नजिकिँदै गर्दा यातायात क्षेत्रमा बिचौलियाको प्रभाव बढ्ने र यात्रुले सास्ती पाउने अवस्थाप्रति चिन्ता व्यक्त गरिन्। टिकट व्यवस्थापनसँगै यात्रुलाई सुरक्षित रूपमा गन्तव्यमा पुर्‍याउनु मुख्य दायित्व भएको बताउँदै उनले विगतका कमजोरी दोहोरिन नदिन सरकार र यातायात व्यवसायीबीच प्रभावकारी समन्वय आवश्यक रहेको बताइन्।

उनले कृष्णभीरलगायत जोखिमयुक्त सडकखण्डमा मर्मत तथा पहिरो पन्छाउने काम भइरहे पनि यातायात व्यवस्था विभाग र व्यवसायीबीच थप समन्वय आवश्यक रहेको बताइन्। समितिले सातवटै प्रदेशमा यातायात तथा पूर्वाधारको अनुगमन गर्न उपसमिति बनाएर काम गरिरहेको जानकारीसमेत उनले दिइन्।

रास्वपाका सांसद सुनिल केसीले राजधानीका प्रमुख सडक तथा चोकमा पर्याप्त ट्राफिक पूर्वाधार नहुँदा दुर्घटनाको जोखिम बढेको बताए। कोटेश्वर, बालकुमारी, पेप्सीकोला, थली र साँखुलगायत क्षेत्रमा ट्राफिक लाइटको अभाव तथा अव्यवस्थित पार्किङप्रति प्रश्न उठाउँदै उनले तत्काल सुधार गर्न सम्बन्धित निकायसँग माग गरे।

प्रतिपक्षी नेपाली कम्युनिस्ट पार्टीका सांसद गोपाल शर्माले भने चाडपर्वमा मात्र यातायात व्यवस्थापनमा सक्रिय हुने प्रवृत्तिले दीर्घकालीन समस्या समाधान नहुने बताए। यातायात प्रणालीको समग्र र दिगो पुनर्संरचना आवश्यक रहेको उल्लेख गर्दै उनले दीर्घकालीन नीति निर्माणमा सरकार र संसदीय समितिले गम्भीरतापूर्वक काम गर्नुपर्नेमा जोड दिए।