बाढीले क्षति पुर्‍याएको नवलपुरमा तत्काल राहत र पुनर्निर्माण गर्न खनालको माग


काठमाडौँ । अविरल वर्षापछि नारायणी नदीमा आएको बाढीले नवलपुरका विभिन्न क्षेत्र प्रभावित बनेपछि राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद मनिष खनालले तत्काल राहत तथा पुनर्निर्माणको व्यवस्था गर्न सरकारसँग माग गरेका छन्।

सोमबार प्रतिनिधिसभाको बैठकमा बोल्दै सांसद खनालले नारायणीको उच्च बहावका कारण अमलटारी, सेरी, तमासपुर र बहुवनलगायत क्षेत्र जोखिममा परेको बताए। सुस्ता गाउँसमेत डुबानमा परेपछि स्थानीय प्रशासनले २३५ घरधुरीका ११ सयभन्दा बढी नागरिकलाई सुरक्षित स्थानमा स्थानान्तरण गरेको उनले जानकारी दिए।

पानीको सतह घटे पनि विस्थापित नागरिक तत्काल घर फर्किन सक्ने अवस्था नरहेको भन्दै खनालले प्रभावितका लागि सरकारले तत्काल राहतको प्याकेज घोषणा गर्नुपर्ने बताए। नदी तटीय क्षेत्रमा बाढी र डुबानबाट भएको क्षतिको गम्भीर समीक्षा गरी दीर्घकालीन समाधानतर्फ पनि सरकारले काम गर्नुपर्ने उनको भनाइ थियो।

खनालले विगतमा सिँचाइ तथा जलस्रोत व्यवस्थापन आयोजनाले तयार पारेको नदी कटान नियन्त्रणसम्बन्धी अध्ययन प्रतिवेदन तत्काल ऊर्जा मन्त्रालयबाट झिकाएर कार्यान्वयन गर्नुपर्ने माग गरे।

बाढीका कारण कालीगण्डकी करिडोरमा क्षति पुगेको तथा बौदीकाली गाउँपालिका जोड्ने झोलुङ्गे र पक्की पुलमा समेत क्षति हुँदा नागरिकको आवतजावत प्रभावित भएको उनले बताए। बौदीकाली–४, ऋचाङको मौलाथरमा गएको पहिरोबाट भएको क्षतिप्रति पनि उनले सरकारको ध्यानाकर्षण गराए।

प्रभावित क्षेत्रमा थप क्षति हुन नदिन पूर्वतयारी, जोखिम मूल्याङ्कन र विस्तृत अध्ययनसहित पुनर्निर्माणको काम अघि बढाउनुपर्नेमा सांसद खनालले जोड दिए।