काठमाडौँ । नेपाली कांग्रेसका सांसद आनन्दप्रसाद ढुङ्गानाले पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको गिरफ्तारीको विषयलाई लिएर सरकारको कार्यशैलीप्रति प्रश्न उठाएका छन्।
सोमबार राष्ट्रिय सभा बैठकको शून्य समयमा बोल्दै सांसद ढुङ्गानाले बिनापुर्जी र मध्यरातमा जबरालाई नियन्त्रणमा लिइएको भन्दै आपत्ति जनाएका हुन्। उनले उक्त घटनालाई पञ्चायती शासनकालमा हुने गिरफ्तारीसँग तुलना गर्दै लोकतान्त्रिक व्यवस्थामा यस्तो कार्यशैली देखिनु गम्भीर विषय भएको बताए।
ढुङ्गानाले सरकारले कानुनको शासन र सुशासनको कुरा गरे पनि व्यवहारमा भने स्वेच्छाचारी ढंगले अघि बढेको आरोप लगाए। पूर्वप्रधानन्यायाधीशको गिरफ्तारीलगायत पछिल्ला घटनाबारे प्रधानमन्त्री र गृहमन्त्रीले संसद्मा आएर जवाफ दिनुपर्ने उनको माग छ।
उनले भने, ‘हिजो पञ्चायतकालमा सिभिल ड्रेसमा आएर बिनाजानकारी गिरफ्तारी हुन्थ्यो, आज लोकतन्त्रमा पनि त्यस्तै अवस्था देखिनु चिन्ताजनक छ।’
सरकारले दुई तिहाइको बलमा स्वेच्छाचारी निर्णय गर्न नहुने भन्दै ढुङ्गानाले हरेक घटनाबारे संसद् र जनतालाई जानकारी गराउनु सरकारको संवैधानिक दायित्व भएको बताए।
उनले पछिल्ला प्राकृतिक विपद्का कारण प्रभावित नागरिकको अवस्थाप्रति समेत सरकारको पर्याप्त ध्यान जान नसकेको गुनासो गरे। बाढी तथा अन्य विपद्का विषयमा सांसदहरूले सदनमा उठाएका प्रश्नको सुनुवाइ नभएको उनको भनाइ थियो।
ढुङ्गानाले लोकतन्त्र र संविधानको रक्षाका लागि नागरिक तथा युवा पुस्ता सचेत रहेको उल्लेख गर्दै सरकारलाई आफ्नो कार्यशैली सुधार गर्न आग्रह गरे। सरकार निरङ्कुशतातर्फ अघि बढे त्यसले मुलुकलाई गम्भीर संकटतर्फ लैजान सक्ने उनको चेतावनी थियो।



















प्रतिक्रिया