काठमाडौँ । मनाङको नार्पाभूमि गाउँपालिका–५ स्थित हिम्लुङ हिमालमा गएको हिमपहिरोमा परी मृत्यु हुनेको संख्या चार पुगेको छ।
आइतबार गएको हिमपहिरोमा बेपत्ता भएकामध्ये सोमबार खोज तथा उद्धारका क्रममा थप दुई जनाको शव फेला परेको नेपाल नेसनल माउन्टेन गाइड एसोसिएसन (एनएनएमजीए) ले जनाएको छ।
एसोसिएसनका अनुसार सोमबार वीरेन्द्र गुरुङ र घनश्याम राईको शव फेला परेको हो। यसअघि आइतबार घटनास्थलबाट छेबी भोटे र पासाङ भोटेको शव निकालिएको थियो।
हिमपहिरोमा परी हालसम्म चार जनाको शव फेला परेको भए पनि सम्पर्कविहीन हुनेको यकिन संख्या भने अझै पुष्टि हुन सकेको छैन। प्रारम्भिक विवरणमा १० जना सम्पर्कविहीन रहेको बताइएको थियो।
घटनापछि सुरक्षाकर्मी तथा उद्धार टोलीले हिमपहिरो प्रभावित क्षेत्रमा खोजी तथा उद्धार कार्यलाई निरन्तरता दिएका छन्। थप सम्पर्कविहीनको अवस्था पत्ता लगाउन खोजी भइरहेको एसोसिएसनले जनाएको छ।
मनाङ प्रशासनले पनि घटनाको विस्तृत विवरण संकलन तथा सम्पर्कविहीनहरूको खोजी भइरहेको जनाएको छ। हिमपहिरोका कारण प्रभावित क्षेत्रमा उद्धार कार्य चुनौतीपूर्ण बनेको बताइएको छ।



















प्रतिक्रिया