नयाँदिल्ली । तृणमूल कांग्रेसकी प्रमुख ममता बनर्जीले भारतका मुख्य निर्वाचन आयुक्त ज्ञानेश कुमारको राजीनामा मागेकी छन्। नयाँदिल्लीमा विपक्षी दलहरूको गठबन्धन ‘इन्डिया’ ब्लकको बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै उनले यस्तो माग गरेकी हुन्।
बनर्जीले निर्वाचन प्रक्रियामा अनियमितता भएको आरोप लगाउँदै भारतीय जनता पार्टी (भाजपा)ले मध्य प्रदेश, हरियाणा र बिहारमा ‘मत चोरी’ गरेर चुनाव जितेको तथा पश्चिम बंगालमा पनि मत लुटिएको दाबी गरिन्। यी आरोपहरू विपक्षी दलहरूले लगाएका हुन् भने निर्वाचन आयोगले आफ्नो प्रक्रिया कानुनअनुसार रहेको बताउँदै आएको छ।
उनले निर्वाचन प्रक्रियासम्बन्धी विषयमा आफूहरू निर्वाचन आयोगदेखि सर्वोच्च अदालतसम्म पुगेको बताउँदै लोकतन्त्र र जनताको मतदान अधिकारको रक्षा गर्नुपर्नेमा जोड दिइन्।
‘यदि मानिसहरूले मतदान गर्न पाउँदैनन्, यदि उनीहरूको मत लुटिन्छ वा उनीहरूसँग धोकाधडी हुन्छ भने देश कुन दिशातर्फ जान्छ ?’ भन्दै बनर्जीले यस विषयमा आफूहरूको माग स्पष्ट रहेको बताइन्।
उनले लोकतन्त्रको रक्षा गर्दै जनताको सुरक्षा तथा मतदानको अधिकार सुनिश्चित गर्नुपर्ने बताइन्। मतदानको अधिकार नागरिकको संवैधानिक अधिकार भएको उनको भनाइ थियो।
यसअघि नै ‘इन्डिया’ ब्लकका विपक्षी दलहरूले मुख्य निर्वाचन आयुक्त ज्ञानेश कुमारको राजीनामा माग्दै संयुक्त रूपमा राजनीतिक तथा संसदीय पहल अघि बढाउने विषयमा छलफल गर्दै आएका छन्।
नयाँदिल्लीस्थित कन्स्टिट्युसन क्लब अफ इन्डियामा भएको बैठकमा १९ वटा राजनीतिक दल सहभागी भएको कांग्रेस नेता जयराम रमेशले बताएका छन्। बैठकको अध्यक्षता कांग्रेस अध्यक्ष मल्लिकार्जुन खड्गेले गरेका थिए।
बैठकमा निर्वाचन आयोगको कार्यप्रणाली, विशेष गहन पुनरावलोकन (एसआईआर)मार्फत मतदाता सूची संशोधन तथा मुख्य निर्वाचन आयुक्तको भूमिकालगायत विषयमा विपक्षी दलहरूले साझा रणनीति बनाएका थिए।






















प्रतिक्रिया