नुवाकोट । भोटेकोशी बाढीबाट प्रभावित नुवाकोटको विदुर नगरक्षेत्रका १५३ जनाले निःशुल्क स्वास्थ्य सेवा पाएका छन्।
ग्राण्डी अन्तर्राष्ट्रिय अस्पताल काठमाडौँले कोरियाली उम हङ गिल ह्युमन फाउण्डेशनको सहकार्य तथा विदुर नगरपालिका स्वास्थ्य शाखाको समन्वयमा विदुर नगरपालिका–७ अक्करेस्थित तुप्चे ग्रामीण सामुदायिक स्वास्थ्य इकाइमा स्वास्थ्य शिविर सञ्चालन गरेको हो।
शिविरमा बाढीका कारण घरबास गुमाएर अस्थायी संरचनामा बस्दै आएका प्रभावित बासिन्दाको स्वास्थ्य परीक्षण, चिकित्सकीय परामर्श तथा आवश्यक औषधि निःशुल्क उपलब्ध गराइएको स्वास्थ्य शाखा प्रमुख रामराजा भण्डारीले जानकारी दिए।
ग्राण्डी अस्पतालका वरिष्ठ स्त्री तथा प्रसूति रोग विशेषज्ञ प्रा. डा. पदमराज पन्तको नेतृत्वमा चिकित्सकहरूको टोलीले स्त्री तथा प्रसूति रोगसम्बन्धी सेवा प्रदान गरेको थियो।
त्यस्तै, चिकित्सकसहितको टोलीले बालरोग, नाक–कान–घाँटी, हाडजोर्नी तथा जनरल फिजिसियन सेवा पनि दिएको थियो। स्वास्थ्य परीक्षणपछि चिकित्सकको सिफारिसअनुसार आवश्यक औषधि उम हङ गिल ह्युमन फाउण्डेशनले निःशुल्क उपलब्ध गराएको थियो।
भौगोलिक अवस्था तथा विपद्का कारण स्वास्थ्य सेवाको पहुँचमा कठिनाइ भोगिरहेका समुदायलाई लक्षित गरी शिविर सञ्चालन गरिएको आयोजकले जनाएको छ।
विदुर नगरपालिका–७ का अध्यक्ष रविन्द्र नेपालले बाढीबाट प्रभावित भएर अस्थायी बसोबासमा रहेका स्थानीयलाई आफ्नै क्षेत्रमा विशेषज्ञ चिकित्सकबाट स्वास्थ्य सेवा प्राप्त हुँदा राहत पुगेको बताए।
बाढीपछि घरबास गुमाएका प्रभावितको स्वास्थ्य अवस्थालाई ध्यानमा राख्दै स्थानीय तह, स्वास्थ्य संस्था तथा सहयोगी संस्थाबीचको समन्वयमा यस्ता सेवा निरन्तर आवश्यक रहेको उनको भनाइ छ।






















प्रतिक्रिया