विधि विज्ञान प्रयोगशाला विधेयक पारितपछि बिहीबारसम्म स्थगित भयो प्रतिनिधिसभा


काठमाडौँ । प्रतिनिधिसभाको बुधबारको बैठकले ‘राष्ट्रिय विधि विज्ञान प्रयोगशाला (स्थापना र सञ्चालन) विधेयक, २०८३’ पारित गरेको छ। बैठकले विभिन्न चार विधेयकलाई दफावार छलफलका लागि सम्बन्धित समितिमा पठाउने निर्णयसमेत गरेको छ।

विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्री महावीर पुनले ‘राष्ट्रिय विधि विज्ञान प्रयोगशाला (स्थापना र सञ्चालन) विधेयक, २०८३’ माथि छलफल गरियोस् र पारित गरियोस् भन्ने प्रस्ताव पेस गरेका थिए। शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको प्रतिवेदनसहितको उक्त विधेयकलाई सभाले पारित गरेको हो।

त्यसैगरी, कानुन, न्याय तथा संसदीय मामिला मन्त्री सोबिता गौतमले ‘मेलमिलापसम्बन्धी (दोस्रो संशोधन) विधेयक, २०८३’, ‘नेपाल कानुन आयोग (पहिलो संशोधन) विधेयक, २०८३’ र ‘निःशुल्क कानुनी सहायतासम्बन्धी विधेयक, २०८३’ दफावार छलफलका लागि सम्बन्धित समितिमा पठाउन प्रस्ताव गरेकी थिइन्। सभाले तीनै विधेयक समितिमा पठाउने प्रस्ताव स्वीकृत गरेको छ।

कृषि, वन तथा वातावरण मन्त्री गीता चौधरीले राष्ट्रिय सभामा उत्पत्ति भएको ‘सङ्क्रामक पशु रोग (नियन्त्रण) विधेयक, २०८३’ पनि दफावार छलफलका लागि सम्बन्धित समितिमा पठाउन प्रस्ताव पेस गरेकी थिइन्। उक्त प्रस्तावसमेत प्रतिनिधिसभाले स्वीकृत गरेको छ।

बैठकमा सभामुख डोलप्रसाद अर्यालले कार्यसूचीमा रहेका प्रस्तावहरू पारित भएको घोषणा गरेपछि प्रतिनिधिसभाको बैठक बिहीबार बिहान ११ बजेसम्मका लागि स्थगित गरेका छन्।