भारतीय राजदूत श्रीवास्तवको बिदाइ, नेपालमा नयाँ राजदूत आउने


काठमाडौँ । नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तव आफ्नो तीनवर्षे कार्यकाल पूरा गरी बिहीबार स्वदेश फर्किँदै छन्। उनको स्थानमा नयाँ राजदूत को आउने भन्नेबारे भने भारतले अहिलेसम्म नाम टुंगो लगाएको छैन।

श्रीवास्तव फर्किएपछि तत्कालका लागि भारतीय दूतावासका मिसन उपप्रमुख डा. राकेश पाण्डेले कार्यवाहक राजदूतका रूपमा जिम्मेवारी सम्हाल्ने भएका छन्। पाण्डेले यसअघि पनि श्रीवास्तव उपचारमा रहेका बेला कार्यवाहक राजदूतको जिम्मेवारी सम्हालेका थिए।

यसपटक श्रीवास्तवको कार्यकाल सकिन लाग्दासमेत भारतले नयाँ राजदूतको नाम नेपाललाई औपचारिक रूपमा पठाएको छैन। विगतमा कार्यकाल सकिनुअघि नै नयाँ राजदूतको नाम टुंगो लगाएर प्रक्रिया अघि बढाउने गरिएको भए पनि यसपटक प्रक्रिया केही ढिलो भएको बताइएको छ।

नेपालको वर्तमान राजनीतिक तथा भूराजनीतिक अवस्थाका कारण पनि नयाँ राजदूत छनोटमा ढिलाइ भएको हुनसक्ने भारतीय पक्षका एक नेताको भनाइ छ। उनका अनुसार नेपालमा राजनीतिक संक्रमण, बदलिँदो भूराजनीतिक अवस्था तथा विपद्का घटनालाई समेत भारतले ध्यानमा राखेको छ।

यसैबीच नेपालका लागि नयाँ भारतीय राजदूतका रूपमा भारतको विदेश मन्त्रालयका अतिरिक्त विदेश सचिव मुनु महावरको नाम चर्चामा आएको छ। महावर विदेश मन्त्रालयको नर्थ डिभिजनअन्तर्गत नेपाल, चीन र भुटान हेर्ने जिम्मेवारीमा छन्।

महावर यसअघि पनि पटकपटक नेपाल आएर उच्चस्तरीय भेटघाट गरिसकेका छन्। जेनजी आन्दोलनपछि बनेको अन्तरिम सरकारका बेला तत्कालीन प्रधानमन्त्री सुशीला कार्कीसहित उच्च अधिकारीसँग उनले भेटवार्ता गरेका थिए। त्यसअघि र प्रधानमन्त्री बालेन्द्र शाह नेतृत्वको सरकार बनेपछि पनि उनी नेपाल आएका थिए।

सन् १९९६ ब्याचका भारतीय विदेश सेवा (आईएफएस) अधिकारी महावरले सन् २००१ देखि २००५ सम्म भारतीय विदेश मन्त्रालयको नेपाल डेस्कमा काम गरेका थिए। उनी यसअघि माल्दिभ्सका लागि भारतीय राजदूतसमेत भइसकेका छन्।

यद्यपि महावरको नाम औपचारिक रूपमा टुंगो लागिसकेको छैन। नेपाल मामिलाका जानकार डा. निहार नायकका अनुसार नेपालमा राजनीतिक नियुक्तिबाट राजदूत पठाउने कि विदेश मन्त्रालयका करियर कूटनीतिज्ञलाई जिम्मेवारी दिने भन्ने विषयमा भारतभित्रै छलफल भइरहेको छ।

राजनीतिक नियुक्तिको सम्भावना रहेमा भारतीय जनता पार्टीका नेता रविशंकर प्रसादको नामसमेत चर्चामा रहेको बताइएको छ। उनी लोकसभा सदस्य तथा पूर्वमन्त्री हुन्। यसबाहेक भाजपा निकट अन्य व्यक्ति, पूर्वसैनिक अधिकारी तथा अवकाशप्राप्त उच्च तहका कर्मचारीको नाम पनि चर्चामा रहेको स्रोतको दाबी छ।

नेपालस्थित भारतीय दूतावासमा राजदूतको पद खाली भएपछि नयाँ नियुक्ति नहुँदासम्म डीसीएमलाई कार्यवाहक जिम्मेवारी दिन सकिने भएकाले भारतले हतारमा नाम पठाउनेभन्दा छनोट प्रक्रिया पूरा गरेर मात्रै निर्णय गर्ने सम्भावना रहेको भारतीय पक्षका अधिकारीहरूको भनाइ छ।

यसैबीच नेपाल सरकारले पनि भारतका लागि नेपाली राजदूत नियुक्तिको प्रक्रिया अघि बढाएको छ। भारतका लागि नेपाली राजदूतमा निश्चलनाथ पाण्डेको नाम सिफारिस भई संसदीय समितिमा छलफल भइरहेको छ।

प्रधानमन्त्री बालेन्द्र शाहको आगामी भारत भ्रमणको तयारीसमेत भइरहेकाले त्यसअघि नै भारतले नेपालका लागि नयाँ राजदूतको नाम पठाउने अपेक्षा गरिएको परराष्ट्र मन्त्रालयका एक अधिकारीले बताएका छन्। प्रधानमन्त्री शाहको भारत भ्रमण नोभेम्बरमा हुने गरी तयारी भइरहेको बताइएको छ।