संकटमा देखाएको साहसका लागि भारतीय पाइलटको मोदीद्वारा प्रशंसा


नयाँ दिल्ली । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले दुबई–तेल अभिभ उडानका क्रममा सह–पाइलटसँग विमानको नियन्त्रणका लागि सङ्घर्ष गर्दा घाइते भएका भारतीय क्याप्टेन स्मित मच्छरको साहसको प्रशंसा गरेका छन् ।

मोदीले क्याप्टेन मच्छरलाई ‘नायक’ भन्दै गम्भीर खतराबीच पनि यात्रुहरूको जीवन जोगाउन उनले देखाएको साहस, दृढता र कर्तव्यनिष्ठाको प्रशंसा गरेका हुन् ।

फ्लाई दुबईको उक्त विमानमा रहेका सबै १७४ यात्रु सुरक्षित रहेको एयरलाइन्सले जनाएको छ । सञ्चारमाध्यमका अनुसार विमानमा १६६ जना इजरायली नागरिकसहित १७४ जना सवार थिए । सह–पाइलटसँग विमानको नियन्त्रणका लागि भएको संघर्षका क्रममा क्याप्टेन मच्छर घाइते भएका थिए ।

मोदीले सामाजिक सञ्जालमार्फत क्याप्टेन मच्छर गम्भीर रूपमा घाइते भए पनि असाधारण साहस र अटुट सङ्कल्पका साथ यात्रुहरूको जीवन रक्षा गर्न जुटेको बताएका छन् । उनको वीरताले ठूलो दुर्घटना रोक्न र सयौँको ज्यान जोगाउन महत्वपूर्ण भूमिका खेलेको उल्लेख गर्दै मोदीले मच्छरको शीघ्र स्वास्थ्यलाभको कामना गरेका छन् ।

यसअघि इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले पनि क्याप्टेन मच्छरको साहसको प्रशंसा गरेका थिए । घाइते अवस्थामा समेत उनले विमानमा हुन सक्ने ठूलो दुर्घटना रोक्न संघर्ष गरेको नेतान्याहुले बताएका थिए ।

भारतीय सञ्चारमाध्यमका अनुसार ३० वर्षीय क्याप्टेन मच्छर मुम्बईका हुन् । उनको उपचार भइरहेको छ भने उनका अभिभावक उनलाई भेट्न साउदी अरेबिया पुगेका छन् । मच्छरसँग बोइङ–७३७ विमान उडाएको १३ वर्षभन्दा बढीको व्यावसायिक अनुभव रहेको र सन् २०२२ देखि फ्लाई दुबईमा कार्यरत रहेको उनको लिङ्क्डइन विवरणमा उल्लेख छ । यसअघि उनले भारतीय एयरलाइन्स स्पाइसजेटमा पनि काम गरेका थिए ।

क्याप्टेन मच्छरले सन् २०२५ मा एक पोडकास्टमा आफ्नो पाइलट बन्ने यात्राबारे बताएका थिए । परिवारको कपडा व्यवसायमा सहयोग गर्न व्यवस्थापन अध्ययन गरिरहेका बेला एउटा सेमिनारमा सहभागी भएपछि आफू उड्डयन क्षेत्रमा आकर्षित भएको उनले बताएका थिए ।

आफ्नो पहिलो व्यावसायिक उडानलाई जिम्मेवारीका कारण चुनौतीपूर्ण अनुभवका रूपमा स्मरण गर्दै उनले उडान क्षेत्रमा काम गर्दा दबाब सामना गर्न सिकेको बताएका थिए । उनले उड्डयन क्षेत्रमा काम गर्दा तनावलाई नियन्त्रणमा राख्नु महत्वपूर्ण हुने बताएका थिए ।