काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाह (बालेन)को नोभेम्बरमा हुने सम्भावित विदेश भ्रमणलाई लिएर कूटनीतिक तयारी तीव्र बनेको छ । प्रधानमन्त्रीको भारत भ्रमणको तयारी भइरहेका बेला जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय पक्षराष्ट्रको सम्मेलन (कोप–३१)मा सहभागी हुन टर्कीबाट औपचारिक निमन्त्रणा आएपछि भ्रमणको गन्तव्यबारे चासो बढेको हो ।
प्रधानमन्त्रीको भारत भ्रमण नोभेम्बरमा गर्ने गरी परराष्ट्र मन्त्रालयले नेपालस्थित भारतीय दूतावाससँग समन्वय गरिरहेको छ । यद्यपि भ्रमणको मिति भने अझै निश्चित भएको छैन ।
यसैबीच, नोभेम्बर ९ देखि २० गतेसम्म टर्कीको अन्टाल्यामा कोप–३१ आयोजना हुँदैछ । सम्मेलनमा सहभागी हुन टर्कीका राष्ट्रपति रेसेप तैयप एर्दोगानले प्रधानमन्त्री बालेनलाई औपचारिक निमन्त्रणा पठाएका छन् । परराष्ट्र मन्त्रालयले उक्त निमन्त्रणा प्रधानमन्त्री कार्यालयमा पठाइसकेको जनाएको छ ।
कोप–३१ का लागि नेपालको सहभागिताको तयारीसमेत सुरु भइसकेको छ । तर सम्मेलनमा नेपालको नेतृत्व कसले गर्ने भन्ने विषय भने अझै टुंगो लागिसकेको छैन । परराष्ट्र मन्त्रालयका प्रवक्ता लोकबहादुर क्षेत्रीले सम्मेलनको तयारी भइरहेको र सहभागिताको नेतृत्वबारे निर्णय हुन बाँकी रहेको बताएका छन् ।
नेपालले विगतका कोप सम्मेलनमा उच्चस्तरीय सहभागिता जनाउँदै आएको छ । कोप–२९ मा राष्ट्रपति रामचन्द्र पौडेलको नेतृत्वमा नेपाली प्रतिनिधिमण्डल सहभागी भएको थियो भने कोप–३० मा तत्कालीन कृषि मन्त्री मदनप्रसाद परियारको नेतृत्वमा सहभागिता भएको थियो । त्यस्तै, कोप–२८ मा तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र कोप–२६ मा तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवा सहभागी भएका थिए ।
यसपटक नेपालले जलवायु परिवर्तनका कारण ठूलो विपद्को सामना गरिरहेको अवस्थामा कोप–३१ मा उच्चस्तरीय सहभागिता महत्वपूर्ण हुने परराष्ट्र मन्त्रालयका अधिकारीहरूको भनाइ छ । संयुक्त राष्ट्रसङ्घको महासभापछि अर्को महत्वपूर्ण अन्तर्राष्ट्रिय मञ्चका रूपमा कोप–३१ लाई हेरिएकाले नेपालको सहभागिताबारे विशेष चासो देखिएको छ ।
परराष्ट्र मन्त्रालयका एक अधिकारीका अनुसार महासभामा पनि सुरुमा परराष्ट्रमन्त्री मात्र सहभागी हुने तयारी भए पनि अन्तिम समयमा प्रधानमन्त्री स्वयं सहभागी भएका थिए । कोप–३१ का लागि पनि अझै करिब एक महिनाको समय रहेकाले नेतृत्वबारे अन्तिम निर्णय हुन सक्ने उनको भनाइ छ ।
यता, प्रधानमन्त्री बालेनको भारत भ्रमणको तयारी पनि अघि बढिरहेको छ । तर भारत भ्रमणको मिति र कोप–३१ मा नेपालको नेतृत्व दुवै औपचारिक रूपमा निश्चित भइसकेका छैनन् । प्रधानमन्त्रीले दुवै भ्रमण गर्ने अवस्था बनेमा त्यसअनुसार कूटनीतिक तथा प्रशासनिक तयारी गर्नुपर्ने हुन्छ ।
कोप–३१ टर्कीको आयोजनामा हुँदैछ । सम्मेलनमा जलवायु परिवर्तनका कारण उत्पन्न संकट, अनुकूलन, जलवायु वित्त, उत्सर्जन न्यूनीकरण तथा दीर्घकालीन जलवायु लक्ष्यलगायत विषयमा बहुपक्षीय छलफल हुनेछन् । विश्वका अधिकांश देश सहभागी हुने भएकाले जलवायु नीति र प्रतिबद्धताका विषयमा निर्णय तथा सहमति जुटाउने महत्वपूर्ण मञ्चका रूपमा कोपलाई लिइन्छ ।
नेपालका लागि भने जलवायु परिवर्तनबाट परेको असर, जलवायु वित्त, हानिनोक्सानी तथा हिमाली क्षेत्रमा बढ्दो जोखिमका विषय अन्तर्राष्ट्रिय समुदायसमक्ष उठाउने दृष्टिले कोप–३१ महत्वपूर्ण हुने देखिन्छ ।






















प्रतिक्रिया