मध्यवर्ती क्षेत्रका नागरिकको दुःखबारे थेबेको सरकारलाई खबरदारी


काठमाडौँ । नेकपा एमालेका सांसद क्षितिज थेबेले मकवानपुरको हेटौंडा र मनहरी क्षेत्रका मध्यवर्ती (बफर जोन) का बासिन्दाले भोग्दै आएको समस्या समाधान गर्न सरकारको ध्यानाकर्षण गराएका छन्।

शुक्रबार प्रतिनिधिसभाको बैठकमा विशेष समय लिएर बोल्दै सांसद थेबेले वन्यजन्तुको त्रास र विकास निर्माणमा लगाइएको कडाइका कारण मध्यवर्ती क्षेत्रका स्थानीयको दैनिकी कष्टकर बनेको बताए।

मध्यवर्ती क्षेत्र संघर्ष समितिका प्रतिनिधिसँग भेट गरेपछि आफूले त्यहाँको अवस्था नजिकबाट बुझेको भन्दै उनले स्थानीयले जीर्ण घरसमेत मर्मत गर्न नपाउने र आफ्नो जग्गामा आवश्यक साना संरचना निर्माणमा समेत विभिन्न बन्देज भोग्नुपरेको बताए।

उनका अनुसार वन्यजन्तुको त्रासका कारण साँझ परेपछि आवतजावत गर्नसमेत जोखिम हुने गरेको छ। जंगली जनावरले घरपालुवा पशुचौपाया मार्ने तथा सडक दुर्घटनामा वन्यजन्तुका कारण स्थानीयले ज्यान गुमाउने घटना पनि दोहोरिँदै आएको उनले बताए।

सांसद थेबेले मध्यवर्ती क्षेत्रका बासिन्दाले विकास निर्माण तथा प्राकृतिक स्रोतको उपयोगमा समेत कठिनाइ भोगिरहेको बताए। पटक–पटक सरकारको ध्यानाकर्षण गराउँदा र अघिल्ला संसद् अधिवेशनमा समेत विषय उठाउँदा समस्या समाधान नभएको भन्दै उनले असन्तुष्टि जनाए।

स्थानीयको समस्या र मागलाई सम्बोधन गर्न सरकारले बफर जोनसम्बन्धी नीति पुनरावलोकन गर्नुपर्नेमा जोड दिँदै थेबेले तत्काल आवश्यक कदम चालेर मध्यवर्ती क्षेत्रका नागरिकको कष्टकर जीवन सहज बनाउन सरकारसँग माग गरे।