काठमाडौँ । करदाता प्रोत्साहन उपहार कार्यक्रमअन्तर्गत असोज १ देखि १५ गतेसम्म दैनिक १ लाख रुपैयाँका दरले पुरस्कार पाउने १५ जना विजेताको नाम सार्वजनिक गरिएको छ।
अर्थ मन्त्रालयमा शुक्रबार आयोजित कार्यक्रममा असोज महिनाको पहिलो १५ दिनका लागि छनोट भएका विजेताको नाम घोषणा गरिएको हो। आन्तरिक राजस्व विभागका अनुसार कार्यक्रममार्फत कर प्रणालीमा उपभोक्ताको सहभागिता बढाउने उद्देश्य राखिएको छ।
कार्यक्रमअन्तर्गत पर्साका लालबाबु साह कानुले १० लाख रुपैयाँको बम्पर पुरस्कार प्राप्त गरेका छन्। उनले २१ हजार रुपैयाँ बराबरको ल्युब आयल खरिद गर्दा गरेको भुक्तानी कारोबार बम्पर उपहारका लागि छनोट भएको विभागले जनाएको छ।
विभागका अनुसार असोज १ देखि १५ गतेसम्म अनलाइन तथा नगद कारोबारमार्फत बिल लिएका उपभोक्ताका ३ करोड १८ लाख १८ हजार २८६ कारोबार उपहार कार्यक्रमका लागि योग्य भएका थिए।
योग्य कारोबारमध्येबाट प्रत्येक दिन एक जनालाई १ लाख रुपैयाँका दरले पुरस्कार प्रदान गरिएको हो। यसरी १५ दिनमा १५ जना उपभोक्ता दैनिक पुरस्कारका लागि छनोट भएका छन्।
विभागले विद्युतीय माध्यम तथा नगद कारोबारबाट प्राप्त बिललाई उपहार कार्यक्रममा समावेश गर्दै आएको जनाएको छ। उपभोक्तालाई खरिद गर्दा अनिवार्य रूपमा बिल लिन प्रोत्साहित गर्ने र कर प्रणालीमा पारदर्शिता बढाउने उद्देश्यले यस्तो कार्यक्रम सञ्चालन गरिएको हो।
विभागका अनुसार उपहार कार्यक्रमअन्तर्गत छनोट हुने कारोबारको आधारमा विजेता तय गरिन्छ। यसबाट उपभोक्ताले सामान तथा सेवा खरिद गर्दा बिल लिने बानीको विकास हुने र व्यवसायीलाई पनि कारोबारको बिल जारी गर्न प्रोत्साहन पुग्ने अपेक्षा गरिएको छ।























प्रतिक्रिया