काठमाडौँ । प्रतिनिधि सभाको चालु अधिवेशन शुक्रबार औपचारिक रूपमा सम्पन्न भएको छ। अधिवेशनको अन्तिम बैठकलाई सम्बोधन गर्दै सभामुख डोलप्रसाद अर्यालले कानुन निर्माणमा सांसदहरूले देखाएको सक्रियता, संसदीय मर्यादा तथा सत्तापक्ष र प्रतिपक्षबीचको सहकार्यको प्रशंसा गरेका छन्।
सभामुख अर्यालले संसद् केवल बहुमतको प्रक्रिया पूरा गर्ने थलो मात्र नभई जनमुखी बहस, संवाद र जनताको आवाज मुखरित गर्ने महत्वपूर्ण संस्था भएको बताए। जनप्रतिनिधिहरूले संसद्को यही भूमिकालाई आत्मसात् गर्दै आफ्नो जिम्मेवारी निर्वाह गरेको उनको भनाइ थियो।
उनले युवा सांसदहरूको अध्ययनशीलता र परिपक्वतासँगै अनुभवी सांसदहरूको अनुभवले संसद्को कामकारबाहीलाई थप प्रभावकारी बनाएको उल्लेख गरे। विभिन्न विषयमा भएका बहस र छलफलले नीति निर्माण तथा कानुन निर्माणको प्रक्रियालाई थप अर्थपूर्ण बनाएको उनले बताए।
सभामुख अर्यालले संसद्को प्रभावकारिता कायम राख्न सबै पक्षबीच संवाद, सहकार्य र संसदीय मर्यादाको निरन्तर पालना आवश्यक रहेको बताए। सत्तापक्ष र प्रतिपक्षबीचको रचनात्मक भूमिकाले संसद्लाई अझ प्रभावकारी बनाउन सहयोग पुग्ने उनको भनाइ थियो।
यसैगरी सभामुख अर्यालले जलवायु परिवर्तनको विषयलाई आफ्नो प्रमुख प्राथमिकतामध्ये एकका रूपमा अघि बढाएको बताए। आफ्नो नेतृत्वमा तान्जानियामा आयोजना हुने अन्तर-संसदीय संघ (आईपीयू) को महासभामा सहभागी हुने नेपाली प्रतिनिधिमण्डलले हिमाली मुलुकले भोगिरहेका जलवायुजन्य चुनौती र जलवायु वित्तका विषयलाई सशक्त रूपमा उठाउने जानकारी उनले दिए।
नेपालजस्ता हिमाली मुलुकले जलवायु परिवर्तनका कारण भोगिरहेका असरलाई अन्तर्राष्ट्रिय मञ्चमा प्रभावकारी रूपमा प्रस्तुत गर्नुपर्नेमा जोड दिँदै उनले जलवायु न्याय र वित्तीय सहयोगका विषयमा नेपालको आवाज उठाउने बताए।
चालु अधिवेशन सम्पन्न भएसँगै प्रतिनिधि सभाको आगामी अधिवेशनमा पनि जनसरोकारका विषयलाई प्राथमिकतामा राख्दै प्रभावकारी रूपमा काम गर्ने अपेक्षा गरिएको छ।






















प्रतिक्रिया