आइतबार तान्जानियाको भ्रमणमा जाँदै सभामुख अर्याल


काठमाडौँ। अन्तरव्यवस्थापिका सङ्घ (आईपीयू) को १५३औँ महासभामा सहभागी हुन सभामुख डोलप्रसाद अर्याल आइतबार तान्जानिया प्रस्थान गर्ने भएका छन्।

१८३ देशका सभामुख तथा संसद्का प्रतिनिधिहरूको सहभागिता रहने आईपीयू महासभा तान्जानियाको अरुशामा असोज १९ गतेदेखि २३ गतेसम्म सञ्चालन हुँदैछ।

महासभालाई सभामुख अर्यालले सम्बोधन गर्ने कार्यक्रम रहेको छ। सम्बोधनका क्रममा उनले जलवायु परिवर्तनका कारण नेपालले पछिल्लो समय भोग्नुपरेको अकल्पनीय क्षति तथा त्यसबाट सिर्जित चुनौतीबारे अन्तर्राष्ट्रिय समुदायको ध्यानाकर्षण गराउने बताएका छन्।

नेपालमा पछिल्लो समय आएको बाढी, पहिरो तथा अन्य प्राकृतिक विपद्का कारण भएको मानवीय र भौतिक क्षतिको विषयलाई अन्तर्राष्ट्रिय मञ्चमा उठाउने तयारी सभामुख अर्यालले गरेका छन्।

यसै विषयमा जानकारी गराउन सभामुख अर्यालले आज राष्ट्रपति रामचन्द्र पौडेलसँग भेटवार्ता गरेका थिए। भेटका क्रममा उनले आफ्नो तान्जानिया भ्रमण तथा आईपीयू महासभामा नेपालले उठाउने विषयबारे राष्ट्रपतिलाई जानकारी गराएका थिए।

आईपीयू महासभा विश्वभरका संसद् तथा सांसदबीच अन्तर्राष्ट्रिय सहकार्य, लोकतन्त्र, शान्ति, मानव अधिकार तथा समसामयिक विश्वव्यापी चुनौतीबारे छलफल हुने महत्वपूर्ण अन्तर्राष्ट्रिय मञ्चका रूपमा लिइन्छ।

सभामुख अर्यालको नेतृत्वमा हुने यस भ्रमणका क्रममा नेपालका पछिल्ला प्राकृतिक विपद्, जलवायु परिवर्तनको प्रभाव र त्यसबाट नेपालले भोगिरहेको चुनौतीलाई अन्तर्राष्ट्रिय समुदायसमक्ष प्रस्तुत गर्ने तयारी गरिएको छ।