विश्वका अधिकांश देशमा बिक्यो ‘छ माया छपक्कै २’को प्रदर्शन अधिकार


काठमाडौं – दीपकराज गिरी स्टारर फिल्म ‘छ माया छपक्कै २’को विदेश प्रदर्शन अधिकार धमाधम बिक्री भइरहेको छ। आमा सरस्वती मुभिज र रोहित अधिकारी फिल्मस्को ब्यानरमा निर्माण भएको फिल्मको नेपाली फिल्मको राम्रो बजार भएका अधिकांश देशमा प्रदर्शन अधिकार बिक्री भएको निर्माणपक्षले जनाएको छ।

फिल्मको अष्ट्रेलिया, क्यानडा, अमेरिका, युरोप तथा मध्यपूर्वका विभिन्न देश र यूएईका लागि प्रदर्शन अधिकार बिक्री भइसकेको छ। अमेरिकामा फिल्म अक्टोबर १६ देखि प्रदर्शनमा आउनेछ। यस्तै, यूएई, कतार, बहराइन, ओमानलगायतका मध्यपूर्वी देशमा पनि अक्टोबर १६ मै फिल्म रिलिज हुने बताइएको छ।

युरोपमा भने फिल्म दशैं र तिहारको अवसर पारेर प्रदर्शन गरिने निर्माणपक्षले जनाएको छ।

रोचक कुरा त के छ भने, फिल्मको विषयवस्तुबारे निर्माणपक्षले अहिलेसम्म पूर्ण जानकारी सार्वजनिक गरेको छैन। फिल्मको शीर्ष गीत मात्र सार्वजनिक भएको अवस्थामा विदेशमा प्रदर्शन अधिकार बिक्री हुनुलाई निर्माणपक्षले सकारात्मक रूपमा लिएको छ।

नेपालमा भने फिल्म असोज ३१ गतेदेखि प्रदर्शनमा आउनेछ। दीपेन्द्र लामाको निर्देशनमा बनेको फिल्ममा दीपकराज गिरी, केकी अधिकारी, सनिशा भट्टराई, दीपाश्री निरौला, कर्मा शाक्य, रिहान गिरी, निर्मल शर्मालगायत कलाकारको अभिनय रहेको छ।