काठमाडौं – निर्देशक सुदर्शन थापाले आफ्नो नयाँ फिल्म ‘शुभ विवाह’को छायांकन पूरा गरेका छन्। आइतबार पोखरामा अन्तिम दृश्य खिचिएसँगै फिल्मको ४० दिने छायांकन सकिएको हो।
फिल्मको अधिकांश छायांकन पोखरामै गरिएको छ। असोज ८ गतेदेखि देशभर परेको निरन्तर वर्षाका कारण तीन दिन छायांकन रोकिए पनि निर्माणपक्षले निर्धारित समयमै छायांकन पूरा गरेको हो।
प्रियदर्शन फिल्म्सको ब्यानरमा निर्माण भएको फिल्ममा अभिनेता प्रदीप खड्का र अभिनेत्री सनिशा भट्टराई मुख्य भूमिकामा छन्। यो उनीहरूबीचको पहिलो सहकार्य हो। फिल्ममा हरिहर शर्मा, वसुन्धरा भुसाल, मुकुन्द किशोर भट्टराई, विशाल पहारी, मेक्सम गौडेल, अन्शु महर्जन, विन्दा खतिवडा, सन्तोष थापा, सुनिशा बजगाईँ, आश्मा गिरी, रामेश्वर रिजाललगायत कलाकारको अभिनय छ।
सुप्रिया कटुवाल निर्माता रहेको फिल्ममा साम भुजेल कार्यकारी निर्माता छन्। प्रदीप श्रीवास्तवको कथा रहेको फिल्मको पटकथा तथा संवाद रामशरण पाठकले लेखेका हुन्।
राजेश श्रेष्ठको छायांकन, अर्जुन पोखरेलको संगीत, रेभन आरती सिंहको पार्श्व संगीत, विक्रम स्वारको नृत्य निर्देशन तथा मिलन श्रेष्ठको सम्पादन रहने फिल्मको ट्यागलाइन ‘सात वाचाभन्दा पनि परको सत्य’ रहेको छ।
फिल्म महाशिवरात्रिको अवसर पारेर फागुन २१ गतेदेखि प्रदर्शनमा आउनेछ। सोही मितिमा अभिनेत्री पूजा शर्माको निर्माण तथा अभिनय रहेको फिल्म ‘रत्यौली’ पनि प्रदर्शन हुँदैछ।
कुनै समय एकअर्काका परिपूरक मानिने निर्देशक सुदर्शन थापा र अभिनेत्री पूजा शर्मा पहिलोपटक बक्स अफिसमा आमनेसामने हुने भएकाले ‘शुभ विवाह’ र ‘रत्यौली’बीचको भिडन्तलाई नेपाली फिल्म क्षेत्रमा चासोका साथ हेरिएको छ।






















प्रतिक्रिया