‘कबड्डी ५’को ‘थाक खोला’ सार्वजनिक, दयाहाङ-मिरुनाको प्रेम र नोकझोकले बढायो कौतुहलता


काठमाडौं – रामबाबु गुरुङको लेखन तथा निर्देशनमा बनेको फिल्म ‘कबड्डी ५ः आफ्टर द फाइनल म्याच’को गीत ‘थाक खोला’ सार्वजनिक भएको छ। निर्माण टिमले सोमबार बाँसुरी फिल्मस्को आधिकारिक युट्युबमार्फत गीत सार्वजनिक गरेको हो।

कालीप्रसाद बास्कोटाको स्वर, शब्द र संगीत रहेको गीतमा रिकेश गुरुङ किजको संगीत संयोजन, गिटारवादन तथा मिक्सिङ–मास्टरिङ रहेको छ। गीतमा हेमन्त कान्छा रसाइलीले सारंगी र कृष्ण लिम्बूले बेस गिटारमा साथ दिएका छन्।

गीतको भिडियोमा फिल्मका मुख्य कलाकार दयाहाङ राई, मिरुना मगर, विजय बराल, बुद्धि तामाङ, रिश्मा गुरुङ र सिर्जना गुरुङ फिचर्ड छन्।

भिडियोमा दयाहाङको मिरुना, सिर्जना र रिश्मासँगको प्रेम, सम्बन्ध तथा रमाइलो नोकझोकलाई कथात्मक शैलीमा प्रस्तुत गरिएको छ। तीनै पात्रसँग दयाहाङको सम्बन्ध र उनीहरूबीचको रमाइलो टकरावले गीतलाई मनोरञ्जनात्मक बनाउनुका साथै फिल्मको कथाप्रति दर्शकको कौतुहलता समेत बढाएको छ।

गीतको भिडियोमा थाक खोलादेखि सेताम्य हिमाल र हरियाली डाँडापाखासम्मका आकर्षक प्राकृतिक दृश्यलाई समेत प्राथमिकता दिइएको छ। प्रकृतिको सुन्दर दृश्यले गीतको भाव र कथालाई थप जीवन्त बनाएको छ।

विशेषगरी ‘थाक खोला’मा छुट्टै नृत्य वा कोरियोग्राफीभन्दा फिल्मकै कथाशैलीलाई निरन्तरता दिइएको छ। पात्रहरूको प्रेम, सम्बन्ध, नोकझोक र भावनालाई कथामार्फत प्रस्तुत गरिएको गीतले ‘कबड्डी ५’को कथा बुझ्न थप उत्सुकता जगाउने संकेत गरेको छ।