काठमाडौँ । दसैँ, तिहार तथा छठ पर्वलाई लक्षित गर्दै सार्वजनिक यातायातको अग्रिम टिकट बुकिङ असोज २३ गतेदेखि खुला हुने भएको छ।
यातायात व्यवस्था विभागमा आज बसेको सरोकारवालाहरूको बैठकले देशभर लामो तथा मध्यम दूरीका सार्वजनिक सवारीसाधनको अग्रिम टिकट बुकिङ असोज २३ गतेदेखि खुला गर्ने निर्णय गरेको हो।
नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका अध्यक्ष सरोज सिटौलाले बैठकले गरेको निर्णयअनुसार असोज २३ गतेदेखि अग्रिम टिकट बुकिङ खुला गरिने जानकारी दिए।
लगातारको वर्षा तथा बाढीपहिरोका कारण विभिन्न स्थानमा सडक अवरुद्ध भएकाले दसैँको यात्रा प्रभावित हुन सक्ने भन्दै व्यवसायीहरूले तत्काल अग्रिम टिकट बुकिङ खोल्न आनाकानी गर्दै आएका थिए। सरकारले मुख्य राजमार्गको तत्काल मर्मतसम्भार गरी यातायात सञ्चालन सहज बनाउने प्रतिबद्धता जनाएपछि व्यवसायीहरू टिकट बुकिङ खोल्न सहमत भएका हुन्।
बैठकमा गृह मन्त्रालय, नेपाल प्रहरी, यातायात व्यवसायी राष्ट्रिय महासंघ तथा उपभोक्तावादी संघसंस्थाका प्रतिनिधिहरू सहभागी थिए।
दसैँ, तिहार तथा छठका बेला ठूलो संख्यामा यात्रु उपत्यकाबाट बाहिरिने भएकाले अग्रिम टिकट बुकिङ खुला भएपछि यात्रुले आफ्नो गन्तव्यका लागि समयमै टिकट लिन सक्नेछन्।






















प्रतिक्रिया