राजकीय सम्मानसहित नानाको अन्तिम बिदाइ, पुणेमा गरिने अन्तिम संस्कार


काठमाडौँ । दिग्गज अभिनेता नाना पाटेकरको आकस्मिक निधनले बलिउड तथा भारतीय कला क्षेत्रमा शोक छाएको छ। ७५ वर्षीय पाटेकरको बिहीबार बिहान गोवास्थित निवासमा हृदयाघातका कारण निधन भएको हो। अस्पताल पुर्‍याएपछि चिकित्सकहरूले करिब ४५ मिनेटसम्म उनलाई बचाउने प्रयास गरे पनि सफल हुन सकेन।

पाटेकरको अन्तिम संस्कार आज साँझ महाराष्ट्रको पुणेस्थित डोणजेमा रहेको उनको फार्महाउसमा राजकीय सम्मानका साथ गरिने भएको छ। महाराष्ट्र सरकारले मराठी तथा हिन्दी सिनेमा र रंगमञ्चमा पाटेकरले पुर्‍याएको योगदानको सम्मान गर्दै राजकीय सम्मानका साथ अन्तिम बिदाइ गर्ने निर्णय गरेको हो। अन्तिम संस्कारअघि उनको पार्थिव शरीरलाई श्रद्धाञ्जलीका लागि राखिने जनाइएको छ।

पाटेकरको निधनपछि भारतीय चलचित्र क्षेत्रका कलाकार तथा राजनीतिक व्यक्तित्वहरूले सामाजिक सञ्जालमार्फत श्रद्धाञ्जली व्यक्त गरिरहेका छन्। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले पाटेकरको निधनप्रति दुःख व्यक्त गर्दै उनको अभिनय क्षमता, विशिष्ट पहिचान र प्रभावलाई स्मरण गरेका छन्।

अभिनेता रजनीकान्तले पाटेकरको निधनप्रति दुःख व्यक्त गर्दै आफूले प्रिय साथी गुमाएको बताएका छन्। उनले शोकसन्तप्त परिवार तथा शुभेच्छुकप्रति समवेदना व्यक्त गर्दै दिवंगत पाटेकरको आत्माको चिरशान्तिको कामना गरेका छन्।

अभिनेता पंकज त्रिपाठीले पनि पाटेकरको निधनलाई चलचित्र क्षेत्रका लागि ठूलो क्षति भएको बताएका छन्। उनले पाटेकरसँग काम गर्ने अवसरलाई आफ्नो करिअरको विशेष अनुभवका रूपमा स्मरण गरेका छन्।

अभिनेता मिथुन चक्रवर्तीले पाटेकरसँगको लामो मित्रता सम्झिँदै दुःख व्यक्त गरेका छन्। उनले पाटेकर सहयोगी स्वभावका व्यक्ति रहेको स्मरण गर्दै उनको निधनले आफूलाई गहिरो दुःखी बनाएको बताएका छन्। अभिनेता अन्नु कपूरले पनि पाटेकरको आकस्मिक निधनले आफू स्तब्ध भएको बताएका छन्।

मराठी तथा हिन्दी चलचित्रमा चार दशकभन्दा लामो समय सक्रिय पाटेकर तीव्र अभिनय शैली, विशिष्ट संवाद प्रस्तुतिका लागि परिचित थिए। उनले ‘परिन्दा’, ‘क्रान्तिवीर’, ‘खामोशी’, ‘अब तक छप्पन’, ‘नटसम्राट’ लगायतका चलचित्रमा प्रभावशाली अभिनय गरेका थिए। उनी तीन पटक राष्ट्रिय चलचित्र पुरस्कारबाट समेत सम्मानित भएका थिए।