कार्कीको रिटमाथि आज सर्वोच्च अदालतमा सुनुवाइ हुँदै


काठमाडौँ । तत्कालीन प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले पुनर्बहालीको माग गर्दै दायर गरेको रिटमा आज सर्वोच्च अदालतमा सुनुवाइ हुँदैछ ।

सरकारले प्रहरी ऐन र नियमावलीविपरीत आफूलाई पदबाट हटाएको दाबी गर्दै कार्कीले रिट दायर गरेका हुन् । उनले आफूलाई पुनर्बहाली गर्न र नवनियुक्त आईजीपी डा. मनोज केसीलाई कामकाज गर्न रोक लगाउन अन्तरिम आदेश माग गरेका छन् ।

यसअघि सर्वोच्चले सरकारसँग कार्कीलाई हटाउनुको कारण माग गर्दै अन्तरिम आदेशबारे छलफल गर्न आजका लागि दुवै पक्षलाई बोलाएको थियो ।

आजको सुनुवाइपछि केसीको नियुक्ति रोक्ने वा नरोक्ने विषयमा अदालतले निर्णय गर्न सक्नेछ ।