काठमाडौँ । प्रधानमन्त्री बालेन्द्र (बालेन) शाहलाई नयाँदिल्लीस्थित इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलमा भारतका वाणिज्य तथा उद्योग राज्यमन्त्री जितिन प्रसादले स्वागत गरेका छन्। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको निमन्त्रणामा दुईदिने राजकीय भ्रमणका लागि दिल्ली पुगेका प्रधानमन्त्री शाहलाई स्वागत गर्न प्रसाद विमानस्थल पुगेका हुन्।
जितिन प्रसाद यसअघि चिनियाँ राष्ट्रपति सी जिनपिङ, सिंगापुरका राष्ट्रपति थर्मन शनमुगरत्नम तथा युरोपेली परिषद्का अध्यक्ष एन्टोनियो कोस्टा र युरोपेली आयोगकी अध्यक्ष उर्सुला भोन डर लेयेनको स्वागतमा पनि खटिएका थिए।
नेपालका प्रधानमन्त्रीको स्वागतमा उच्चस्तरीय पाहुनाको स्वागतको जिम्मेवारी पाउँदै आएका राज्यमन्त्रीलाई खटाइनुलाई भारतले बालेनको भ्रमणलाई दिएको कूटनीतिक महत्त्वका रूपमा हेरिएको छ।
प्रधानमन्त्री शाहको यो प्रधानमन्त्री बनेपछिको पहिलो औपचारिक द्विपक्षीय विदेश भ्रमण हो। भ्रमणका क्रममा उनले भारतीय राष्ट्रपति द्रौपदी मुर्मु, प्रधानमन्त्री नरेन्द्र मोदी र विदेशमन्त्री एस जयशंकरसँग भेटवार्ता गर्नेछन्। व्यापार, ऊर्जा, लगानी, पूर्वाधार र विकास सहकार्यासहितका विषयमा पनि छलफल हुने कार्यक्रम छ।

















प्रतिक्रिया