एआईजी वंशीराज दाहालमाथिको छानबिन पूरा, गृह मन्त्रालयमा बुझाइयो प्रतिवेदन


काठमाडौँ । सशस्त्र प्रहरी बलका अतिरिक्त महानिरीक्षक (एआईजी) वंशीराज दाहालमाथि गरिएको छानबिन पूरा भएको छ। जाँचबुझ अधिकृत एआईजी अन्जनीकुमार पोखरेलले छानबिन प्रतिवेदन गृह मन्त्रालयमा बुझाएका छन्।

पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरालाई भेटेको विषय सार्वजनिक भएपछि दाहाल छानबिनको दायरामा आएका थिए। गृह मन्त्रालयले असोज १९ गते दाहाललाई निलम्बन गर्दै पोखरेललाई जाँचबुझ अधिकृत तोकेको थियो।

छानबिनका क्रममा दाहाल र इनम सापकोटाबीच सम्पर्क हुने गरेको खुलेको प्रतिवेदनमा उल्लेख छ। बयानका क्रममा दाहालले सापकोटा आफ्नो जिल्लावासी तथा चिनजानका व्यक्ति भएकाले मोबाइल र ह्वाट्सएपमार्फत कुराकानी हुने गरेको स्वीकार गरेका छन्।

गृह मन्त्रालयका एक उच्च अधिकारीका अनुसार दाहालले ह्वाट्सएपमार्फत प्रधानमन्त्री बालेन्द्र शाहको लोकेसनबारे समेत सापकोटालाई जानकारी दिएको विषय छानबिनमा खुलेको छ। सापकोटामाथि सम्पत्ति शुद्धीकरणसम्बन्धी मुद्दामा अनुसन्धान भइरहेको छ।

प्रहरी प्रधान कार्यालयले उपलब्ध गराएको दाहाल र सापकोटाबीचको संवाद विवरणका आधारमा छानबिन गरिएको थियो। जाँचबुझले दाहालले सशस्त्र प्रहरी नियमावली, २०७२ विपरीत काम गरेको निष्कर्ष निकालेको जनाइएको छ।

अब प्रतिवेदनका आधारमा दाहालमाथि थप कारबाही गर्ने वा निलम्बन फुकुवा गर्ने भन्ने निर्णय गृह मन्त्रालयले गर्नेछ।

यसअघि असोज ११ गते दाहाल टेकुस्थित उपत्यका अपराध अनुसन्धान कार्यालय पुगेर पूर्वप्रधानन्यायाधीश जबरालाई भेटेका थिए। प्रहरीको प्रारम्भिक अनुसन्धानअनुसार जबराले सापकोटामार्फत सम्पत्ति शुद्धीकरण मुद्दामा थुनामा रहेका दीपक भट्ट र सुलभ अग्रवालको मुद्दामा चलखेल गरेको आशङ्का गरिएको छ। सापकोटा असोज १४ गते त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट नयाँदिल्ली जान लागेका बेला पक्राउ परेका थिए।