काठमाडौँ । नेकपा एमालेले पार्टीका विभिन्न कमिटी तथा सङ्गठनहरूलाई पूर्णता दिने तयारी गरेको छ। यस विषयमा छलफल गर्न पार्टीको स्थायी कमिटी बैठक शुक्रबार दिउँसो १ बजे पार्टी केन्द्रीय कार्यालय च्यासलमा बस्दै छ।
एमाले उपमहासचिव लेखराज भट्टका अनुसार बैठकमा केन्द्रीय कमिटीबाट निर्णय हुन बाँकी रहेका विषयमा छलफल गरी आवश्यक निर्णय लिने तयारी छ। बैठकको मुख्य एजेन्डा पार्टीका विभिन्न कमिटी तथा सङ्गठनहरूलाई पूर्णता दिनु रहेको उनले जानकारी दिए।
बैठकमा पोलिटब्युरो, स्थायी कमिटी, विभागहरू, सल्लाहकार परिषद् र ज्येष्ठ कम्युनिस्ट मञ्चलाई पूर्णता दिने विषयमा छलफल हुनेछ। त्यसैगरी, मनोनयन हुन बाँकी केन्द्रीय कमिटी सदस्यका विषयमा पनि निर्णय गर्ने तयारी छ।
गत पुसमा ११औँ महाधिवेशन सम्पन्न गरेको एमालेले हालसम्म पार्टीका धेरैजसो कमिटीलाई पूर्णता दिन सकेको छैन। बाँकी संरचनालाई पूर्णता दिएर पार्टीको संगठनात्मक कामलाई व्यवस्थित बनाउने विषयमा नेतृत्वले छलफल अघि बढाएको छ।
यसअघि बिहीबार बसेको एमाले बैठकले आगामी मंसिरमा राष्ट्रिय भेला आयोजना गर्ने तथा वडा र गाउँपालिका अधिवेशनका मिति तय गर्ने निर्णय गरेको थियो। शुक्रबारको स्थायी कमिटी बैठकले पार्टीको संगठनात्मक संरचना र बाँकी जिम्मेवारीबारे थप निर्णय गर्ने अपेक्षा गरिएको छ।

















प्रतिक्रिया