काठमाडौँ । साउदी अरबको राजधानी रियादस्थित किङ खालिद अन्तर्राष्ट्रिय विमानस्थल र साउदी एयरलाइन्सको विमानलाई लक्षित गरी भएको आक्रमणमा विमानका कप्तानसहित तीन साउदी नागरिकको मृत्यु भएको छ । घटनामा विभिन्न देशका अन्य नागरिक पनि घाइते भएका छन् ।
बिहीबार भएका दुई छुट्टाछुट्टै आक्रमणमध्ये पहिलो विमानस्थलका संरचनालाई लक्षित गरी गरिएको थियो भने दोस्रो साउदी एयरलाइन्सको विमानमाथि भएको साउदी अधिकारीहरूले जनाएका छन् । आक्रमणमा संलग्न व्यक्तिको पहिचान सार्वजनिक भएको छैन । यद्यपि, इरान समर्थित हुथी विद्रोहीहरूले ब्यालेस्टिक क्षेप्यास्त्र प्रहार गरेर विमानस्थललाई निशाना बनाएको दाबी गरेका छन् ।
मृत्यु हुनेमध्ये साउदी एयरलाइन्सका कप्तान हमुद अली अलकलथामी पनि रहेको साउदी समूहले विज्ञप्तिमार्फत जनाएको छ । आक्रमणका बेला विमान जमिनमा रहेको र त्यसमा क्षति पुगेको थियो । विमानमा यात्रु भने थिएनन् ।
गत सप्ताहन्तदेखि यमनमा हुथी विद्रोहीविरुद्ध साउदी अरब र उसका सहयोगी सेनाले ठूलो सैन्य कारबाही सुरु गरेयता साउदी अरबमा भएको यो सबैभन्दा घातक आक्रमण भएको जनाइएको छ । पछिल्लो सैन्य कारबाही सुरु भएयता साउदी राष्ट्रिय ध्वजावाहक विमानमाथि भएको यो पहिलो पुष्टि भएको आक्रमणसमेत हो ।
रियादस्थित विमानस्थल पछिल्ला दिनमा पटकपटक आक्रमणको निशाना बनेको छ । यसै साताको सुरुमा भएको अर्को आक्रमणमा एक सुडानी नागरिकको मृत्यु भएको थियो ।
शुक्रबार जारी हवाई सेवासम्बन्धी वक्तव्यमा घाइतेहरू विभिन्न देशका नागरिक रहेको र उनीहरूको चोटपटक सामान्यदेखि गम्भीर अवस्थासम्म रहेको उल्लेख गरिएको छ । आक्रमण भएको केही घण्टापछि बिहीबार साँझ ६ बजेदेखि विमानस्थलको सञ्चालन सामान्य अवस्थामा फर्किएको साउदी समूहले जनाएको छ ।
यसैबीच, हुथी विद्रोहीविरुद्ध लडिरहेको साउदी नेतृत्वको गठबन्धनले क्षेत्रीय सुरक्षामा खतरा उत्पन्न गर्न विद्रोहीले प्रयोग गर्दै आएका तीनवटा रकेट प्रक्षेपण मञ्च नष्ट गरेको जनाएको छ ।
साउदी अरबमा पछिल्ला दिनमा भएका आक्रमणले क्षेत्रीय सुरक्षा तनाव थप बढाएको छ ।

















प्रतिक्रिया