आज पनि वर्षाको सम्भावना, ६ प्रदेशमा मौसम बदली


काठमाडौँ । पश्चिमी न्यून चापीय प्रणाली र मनसुनी वायुको प्रभाव कायमै रहँदा आज देशका विभिन्न स्थानमा वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

महाशाखाका अनुसार हाल लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशसहित देशका पहाडी तथा हिमाली भूभागमा साधारणतया बादल लागेको छ। बाँकी भूभागमा आंशिक बदली रहेको छ। बागमती, गण्डकी र लुम्बिनीका केही स्थान तथा कोशी, कर्णाली र सुदूरपश्चिमका एक–दुई स्थानमा चट्याङसहित हल्का वर्षा भइरहेको छ।

आज दिउँसो कोशी प्रदेशका सबै भूभाग तथा देशका पहाडी र हिमाली क्षेत्रमा साधारणतया बादल लाग्नेछ। तराईका भूभागमा भने आंशिक बदली रहने पूर्वानुमान छ।

कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी तथा हिमाली भूभागका थोरै स्थानमा तथा लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका पहाडी तथा हिमाली क्षेत्रका एक–दुई स्थानमा चट्याङसहित मध्यमसम्मको वर्षा हुन सक्ने महाशाखाले जनाएको छ। कोशी प्रदेशको तराई क्षेत्रमा पनि एक–दुई स्थानमा चट्याङसहित मध्यम वर्षाको सम्भावना छ।

आज राति देशका पहाडी तथा हिमाली भूभागमा आंशिक बदली रहनेछ भने तराईमा मौसम मुख्यतया सफा रहने अनुमान छ। तराईका केही स्थानमा बिहानपख हुस्सु लाग्न सक्नेछ।

त्यस्तै, राति कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी तथा हिमाली भूभागका एक–दुई स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।