ललितपुरमा कवाडीको भेषमा चोरी, अनुसन्धानमा प्रहरीलाई सकस


काठमाडौँ । ललितपुरको हरिसिद्धिमा कवाडी सङ्कलन गर्ने बहानामा निर्माणाधीन घरबाट सामान चोरी गर्ने समूह सक्रिय रहेको आशङ्का गरिएको छ। ललितपुर महानगरपालिका–२८ शेराफाँटस्थित शीतल हाइट नजिकै निर्माणाधीन घरबाट लाखौँ रुपैयाँ मूल्यका सामान चोरी भएपछि स्थानीयले प्रहरीको अनुसन्धानमाथि प्रश्न उठाएका छन्।

असोज १६ गते स्थानीय सरला बाँस्कोटाको निर्माणाधीन पाँचतले घरबाट दुईवटा पानी तान्ने मोटर, चारवटा मार्बल तथा ग्रेनाइट कटिङ मेसिन र बाथरुमका स्यानिटरी सामान चोरी भएका थिए। घरधनीका अनुसार चोरी भएका सामानको मूल्य करिब एक लाख २० हजार रुपैयाँ छ।

उक्त घटनामा भारतीय मूलका महिलाहरूको समूह संलग्न रहेको सीसीटिभी फुटेजमा देखिएको दाबी गरिएको छ। दिनदहाडै निर्माणाधीन घरमा प्रवेश गरेर सामान चोरी गरी भागेको दृश्य फुटेजमा कैद भएको बताइएको छ। घटनाबारे प्रहरी चौकी हरिसिद्धि र प्रहरी वृत्त सातदोबाटोलाई जानकारी गराइएको थियो।

घटनाको जानकारी गराउँदासमेत अनुसन्धानमा ढिलाइ भएको घरधनीको आरोप छ। प्रहरीले असोज २० गते कवाडी सङ्कलन गर्दै हिँड्ने तीन जनालाई सोधपुछका लागि नियन्त्रणमा लिए पनि चोरीमा संलग्न व्यक्तिको हुलियासँग नमिलेको भन्दै छाडेको थियो। प्रहरीले भने शङ्कास्पद व्यक्तिहरूलाई चेकजाँच गर्दा घटनामा संलग्न भएको पुष्टि नभएपछि रिहा गरिएको जनाएको छ।

स्थानीयका अनुसार सो क्षेत्रमा कवाडी सङ्कलन गर्ने आवरणमा घर तथा निर्माणस्थलको रेकी गरेर चोरी गर्ने समूह सक्रिय रहेको आशङ्का छ। यसअघि पनि फलामका डन्डीलगायत निर्माण सामग्री चोरी हुने गरेको बताइएको छ। तर, घटनाहरूको अनुसन्धान र चोरीमा संलग्न व्यक्तिको पहिचानबारे स्पष्ट निष्कर्ष नआउँदा स्थानीयमा चिन्ता बढेको छ।

सीसीटिभी फुटेजमा शङ्कास्पद व्यक्तिहरू देखिएको भनिए पनि उनीहरूको पहिचान र पक्राउ प्रक्रियामा ढिलाइ भएको भन्दै स्थानीयले प्रहरीको सक्रियतामाथि प्रश्न उठाएका छन्।

यता, जिल्ला प्रहरी परिसर ललितपुरका एसपी गौतम मिश्रले घटनाबारे अनुसन्धान भइरहेको बताएका छन्। उनका अनुसार असोज २० गते नियन्त्रणमा लिइएका तीन जना प्रज्ञानगरमा भएको चोरीमा संलग्न नदेखिएपछि छाडिएका हुन्। ‘चोरीमा संलग्नहरू पहिचान गर्ने काम भइरहेको छ,’ मिश्रले भने, ‘यसमा अनुसन्धान हुँदैछ।’

चोरीमा संलग्न व्यक्तिको पहिचान, चोरी भएका सामानको बरामदी र यस्ता घटना दोहोरिन नदिन प्रहरी अनुसन्धानको निष्कर्ष महत्त्वपूर्ण हुने देखिएको छ।