बुढीगण्डकीमा बाढीपछि त्रास : ५ जना सम्पर्कविहीन, भौतिक संरचनामा क्षति


काठमाडौँ । गोरखाको चुमनुव्री गाउँपालिकामा पहिरोले बुढीगण्डकी नदी थुनिएपछि आएको लेदोसहितको भीषण बाढीले ठूलो जनधनको क्षति पुर्‍याएको छ। बाढीका कारण पाँच जना सम्पर्कविहीन भएका छन् भने प्रभावित क्षेत्रबाट ४७ जनालाई हेलिकप्टरमार्फत उद्धार गरी सुरक्षित स्थानमा सारिएको छ।

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार आइतबार बिहान चुमनुव्री गाउँपालिका–६ अन्तर्गत लोक्पा र चुम्लिङबीच ठूलो पहिरो खसेर बुढीगण्डकी नदी थुनिएको थियो। नदीको बहाव खुलेपछि लेदोसहितको तीव्र बाढी आएको प्रारम्भिक विवरणमा उल्लेख छ।

बाढीका कारण चुमनुव्री–६ चुम्चेतको उङ्गिलुङस्थित भेडीगोठमा रहेका दुई महिला र तीन पुरुष गरी पाँच जना सम्पर्कविहीन भएका छन्। उनीहरूको खोजी तथा उद्धारका लागि सुरक्षाकर्मी परिचालन गरिएको छ।

बाढी प्रभावित क्षेत्रमा उद्धारका लागि नेपाली सेनाका चारवटा हेलिकप्टर परिचालन गरिएका छन्। प्राधिकरणका प्रवक्ता शान्ति महतका अनुसार हालसम्म ४७ जनालाई हेलिकप्टरबाट उद्धार गरिएको छ। त्यस्तै, सल्लेरीस्थित टाइम्स ऊर्जा प्रालिका १२ जना कर्मचारीलाई पनि सुरक्षित स्थानमा सारिएको छ।

खोज तथा उद्धारका लागि नेपाली सेनाका १२७, नेपाल प्रहरीका १३३ र सशस्त्र प्रहरी बलका १७७ गरी कुल ४३७ जना सुरक्षाकर्मी घटनास्थलमा खटिएका छन्। थप ५० जना प्रहरीलाई पनि तयारी अवस्थामा राखिएको प्राधिकरणले जनाएको छ।

बाढीले नदी आसपासका बस्ती र भौतिक संरचनामा व्यापक क्षति पुर्‍याएको छ। धार्चे गाउँपालिका–३ सल्लेरीमा निर्माणाधीन टाइम्स ऊर्जा प्रालिका गाडी तथा वरपरका सातदेखि आठवटा घर बगाएको प्रारम्भिक विवरण छ। न्याकचेतमा एउटा घर बगाएको छ भने अर्को घरमा बाढी पसेको छ।

त्यस्तै, निर्माणाधीन ३४१ मेगावाट क्षमताको बुढीगण्डकी जलविद्युत् आयोजनाको मुख्य क्याम्प क्षेत्र र केही निर्माण उपकरण बगाएको प्राधिकरणले जनाएको छ। माछिखोलाको तल्लो बस्तीमा बाढी पस्दा २० देखि २२ घर उच्च जोखिममा परेका छन्। बाढीले दुईवटा टेलिफोन टावर र ५० वटा बिजुलीका पोलसमेत ढालेको छ।

बाढीको वास्तविक कारण र घटनाको अवस्थाबारे थप जानकारी संकलन गर्न ड्रोन तथा भूगर्भविद्सहितको तीन सदस्यीय टोली परिचालन गरिएको छ। क्षतिको पूर्ण विवरण भने संकलन हुन बाँकी छ।

बुढीगण्डकीमा आएको बाढीको जोखिम कायमै रहेकाले प्राधिकरणले गोरखा, धादिङ, तनहुँ र चितवनलगायत बुढीगण्डकी तथा त्रिशूली नदीका तटीय क्षेत्रका बासिन्दालाई सतर्क रहन आग्रह गरेको छ। प्राधिकरणले आज साँझसम्म नदी किनार र जोखिमयुक्त बस्तीबाट टाढा सुरक्षित स्थानमा बस्न अनुरोध गरेको छ।