कांग्रेसमा सहमहामन्त्री र केन्द्रीय सदस्यको मतगणना थालियो


काठमाडौँ । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत महिला सहमहामन्त्री र खुला महिला केन्द्रीय सदस्य पदको मतगणना सुरु भएको छ। पार्टीको केन्द्रीय कार्यालय सानेपामा निर्वाचन समितिले केहीबेरअघि मतगणना सुरु गरेको हो।

मतगणनालाई व्यवस्थित र मर्यादित बनाउन सुरक्षा व्यवस्था कडा पारिएको छ। उम्मेदवारका प्रतिनिधिहरूको उपस्थितिमा मतगणना अघि बढाइएको निर्वाचन समितिले जनाएको छ।

महिला खुलातर्फ १५ जना केन्द्रीय सदस्य निर्वाचित हुनेछन्। उक्त पदका लागि ३६ जना उम्मेदवार चुनावी प्रतिस्पर्धामा छन्। त्यस्तै, महिला सहमहामन्त्रीको एक पदका लागि दुई जना उम्मेदवार प्रतिस्पर्धामा छन्।

यसअघि हिजोदेखि नै खुला तथा समावेशी उपसभापति, खुला महामन्त्री र महिला महामन्त्री पदको मतगणना भइरहेको छ। विभिन्न पदको मतगणना जारी रहँदा कांग्रेसको नयाँ केन्द्रीय कार्यसमितिमा को–को निर्वाचित हुन्छन् भन्ने चासो बढेको छ।

मतगणना सम्पन्न भएपछि सम्बन्धित पदका उम्मेदवारहरूको मतपरिणाम सार्वजनिक गरिनेछ।