पोखरा । बडादसैँ नजिकिएसँगै पोखरामा हिमाली च्याङ्ग्राको चहलपहल बढेको छ। मुस्ताङ, उपल्लो डोल्पा र दार्चुलाका हिमाली क्षेत्रबाट च्याङ्ग्रा पोखरा आइपुग्न थालेका छन्। यस वर्ष पोखरामा १३ हजारभन्दा बढी च्याङ्ग्रा ल्याउने लक्ष्य राखिएको छ।
कालीगण्डकी करिडोरमा आएको बाढीपहिरोले सडकका विभिन्न खण्ड अवरुद्ध हुँदा च्याङ्ग्रा पोखरा ल्याउन व्यापारी र गोठालाले कठिन यात्रा गर्नुपरेको छ। अवरोध र प्रतिकूल मौसम छिचोल्दै च्याङ्ग्रा पोखराको याम्दी बजारमा ल्याइएको हो।
यसैक्रममा मुस्ताङको बारागुङ मुक्तिक्षेत्र गाउँपालिका–५ का वडाध्यक्ष सुरेन्द्र गुरुङ आफैँ च्याङ्ग्रा धपाउँदै पोखरा आइपुगेका छन्। आफ्नो वडालाई च्याङ्ग्राको पकेट क्षेत्र घोषणा गरेका गुरुङ किसानको उत्पादनले उचित मूल्य पाउनुपर्ने र बिचौलियाको भूमिका घटाउनुपर्ने उद्देश्यसहित बजारमा आएका हुन्।
‘हिमाली खर्कमा वर्षभरि किसानले गरेको मेहनतको मूल्य किसान स्वयंले पाउनुपर्छ,’ गुरुङले भने। गोठालाले बाढीपहिरोको जोखिम मोलेर च्याङ्ग्रा बजारसम्म ल्याइरहँदा जनप्रतिनिधि पनि उनीहरूको समस्यामा साथ दिनुपर्ने उनको भनाइ छ।
यस वर्ष पोखराको याम्दीमा च्याङ्ग्रा बिक्रीका लागि व्यवस्थित खोर निर्माण गरिएका छन्। जौवारी वन उपभोक्ता समितिका सदस्य तथा खसीबोका र च्याङ्ग्रा व्यवस्थापन समितिका संयोजक मिलनजंग राणाको सक्रियतामा ५० भन्दा बढी काठका खोर बनाइएको छ। खोरमा पानी, दाना र बस्ने ठाउँको व्यवस्था गरिएको छ।
च्याङ्ग्राको तौलमा पारदर्शिता कायम गर्न डिजिटल तौल काँटासमेत राखिएको छ। यसबाट उपभोक्ताले वास्तविक तौलका आधारमा मूल्य तिरेर च्याङ्ग्रा किन्न सक्ने व्यवस्था मिलाइएको राणाले बताए। उनका अनुसार १० हजारभन्दा बढी भेडा तथा च्याङ्ग्रा पोखरा आइसकेका छन् भने निजी जग्गासमेत प्रयोग गरेर ४० भन्दा बढी खोर बनाइएको छ।
विगतमा सडक किनार र खुला चौरमा च्याङ्ग्रा राख्दा धुलो, फोहोर, ट्राफिक जाम र मूल्यमा मनपरी मोलमोलाइ हुने समस्या थियो। यसपटक व्यवस्थित बिक्रीस्थल र तौलको पारदर्शिताले त्यस्ता समस्या घटाउने अपेक्षा गरिएको छ।
हिमाली खर्कमा हुर्किएका च्याङ्ग्रा दसैँमा मासुका लागि विशेष माग हुने पशु हुन्। च्याङ्ग्रा किन्न याम्दी पुगेका उपभोक्ता यामकान्त गौतमले मूल्य केही महँगो भए पनि दसैँ मनाउन च्याङ्ग्रा खरिद गरेको बताए। च्याङ्ग्राको आगमनसँगै याम्दी बजारमा दसैँको चहलपहल बढेको छ।
किसानले उत्पादनको उचित मूल्य पाउने र उपभोक्ताले तौलअनुसार खरिद गर्न पाउने व्यवस्था प्रभावकारी भएमा च्याङ्ग्राको कारोबारमा बिचौलियामाथिको निर्भरता घटाउन सहयोग पुग्ने अपेक्षा गरिएको छ।

















प्रतिक्रिया