काठमाडौँ । काठमाडौँ महानगरपालिकामा कार्यरत १६ जना नगर प्रहरीले एक साताभित्र पदबाट राजीनामा दिएका छन्। राजीनामा दिनेमा प्रहरी निरीक्षक (इन्स्पेक्टर) आठ जना, प्रहरी नायब निरीक्षक (सई) पाँच जना र प्रहरी सहायक निरीक्षक (असई) तीन जना छन्।
महानगर प्रहरीका अनुभवी अधिकृतहरूले एकै अवधिमा राजीनामा दिएपछि उनीहरूको असन्तुष्टि र राजीनामाको कारणबारे फरक–फरक दाबी सार्वजनिक भएका छन्। नगर प्रहरी बलका प्रमुख विष्णु जोशीले वृत्ति विकासको अवसर नपाएको र लामो समयसम्म एउटै पदमा काम गर्नुपरेको असन्तुष्टिका कारण उनीहरूले राजीनामा दिएको बताएका छन्। तर महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत मुक्ति अर्यालले भने राजीनामाको मुख्य कारण सेवा अवधि र उमेर हदसँग सम्बन्धित रहेको दाबी गरेका छन्।
नगर प्रहरी प्रमुख जोशीका अनुसार राजीनामा दिने अधिकृतहरूले वर्षौँदेखि एउटै पदमा रहेर काम गर्नुपरेको र वृत्ति विकासको अवसर नपाएको गुनासो गरेका थिए। उनीहरूको वृत्ति विकासका विषयमा सम्बन्धित निकायमा कुरा राखिएको र छलफलसमेत भइरहेको भए पनि केही अधिकृत थप काम गर्न अनिच्छुक देखिएको उनले बताए।
राजीनामा दिएका एक नगर प्रहरी अधिकृतले पनि वृत्ति विकासका लागि महानगरपालिकाले पर्याप्त पहल नगरेपछि बाध्य भएर जागिर छाड्नुपरेको बताएका छन्। रातोपाटीसँग कुरा गर्दै उनले नगर प्रहरीहरूले रातदिन मिहिनेत गरेर काम गरे पनि पदोन्नतिको अवसर नपाएको गुनासो गरे।
उनका अनुसार नगर प्रहरीको वृत्ति विकाससम्बन्धी निर्णयमा प्रमुख प्रशासकीय अधिकृतको नेतृत्वमा रहने पदपूर्ति समितिको भूमिका रहने भए पनि प्रक्रिया अघि बढाउन महानगरपालिकाले ढिलाइ गरेको छ।
अर्यालको दाबी : सेवा अवधि र उमेर हदका कारण राजीनामा
महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत मुक्ति अर्यालले भने वृत्ति विकासको अवसर नपाएको भन्दै १७ जना नगर प्रहरीले सामूहिक राजीनामा दिएको भन्ने कुरा सत्य नभएको बताएका छन्। उनका अनुसार राजीनामा दिने कर्मचारीहरू ३० वर्षे सेवा अवधि वा ५५ वर्षे उमेर हदका कारण अवकाशको चरणमा पुगेका थिए।
अर्यालले मंगलबार रातोपाटीसँग कुरा गर्दै उनीहरूले वृत्ति विकास नभएकै कारण राजीनामा दिएको भन्ने दाबी सही नभएको जिकिर गरे। यद्यपि, नगर प्रहरी प्रमुख जोशीले भने राजीनामा दिने कर्मचारीको सङ्ख्या १६ रहेको र उनीहरूले वृत्ति विकासको अवसर नपाएको गुनासो गरेको बताएका छन्।
अर्यालका अनुसार संविधान र स्थानीय सरकार सञ्चालन ऐन, २०७४ को दफा ८३ को उपदफा ८ अनुसार हाल नगर प्रहरीलाई स्थायी नियुक्ति गर्न कानुनी जटिलता रहेको छ। नयाँ कर्मचारीलाई करारमा मात्र नियुक्त गर्नुपर्ने व्यवस्था रहेकाले करारका कर्मचारीलाई माथिल्लो पदमा बढुवा गर्न नमिल्ने उनको भनाइ छ।
पहिले नै स्थायी नियुक्ति पाएका नगर प्रहरीको बढुवा कसरी गर्ने भन्ने विषयमा भने महानगरपालिकाले प्रक्रिया खोजिरहेको उनले बताए। स्थायी कर्मचारीको बढुवा महानगरपालिकाले मात्रै निर्णय गरेर गर्न नमिल्ने र यसका लागि लोक सेवा आयोगको परामर्श वा संलग्नता आवश्यक पर्ने अर्यालको भनाइ छ।
नगर प्रहरीका अनुभवी अधिकृतहरूले राजीनामा दिनुको कारणबारे महानगरपालिकाभित्रै फरक धारणा देखिएपछि उनीहरूको सेवा अवस्था, वृत्ति विकासको प्रक्रिया र राजीनामाको वास्तविक कारणबारे थप स्पष्टता आवश्यक देखिएको छ।

















प्रतिक्रिया