काठमाडौं । आइसिसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत ओमानविरुद्धको एकदिवसीय खेलमा नेपाल जिततर्फ अघि बढेको छ। नेपालले दिएको २६४ रनको लक्ष्य पछ्याइरहेको ओमान नेपाली बलरसामु निरीह देखिएको छ।
ओमानको अल अमेरत क्रिकेट ग्राउन्ड मिनिस्ट्री टर्फ–१ मा जारी खेलमा यो समाचार तयार पार्दासम्म घरेलु टोलीले १४ ओभरमा ६ विकेट गुमाएर ४७ रन मात्र जोडेको छ। ओमानलाई जितका लागि अब थप २१७ रन आवश्यक छ भने उसका चार विकेट मात्र बाँकी छन्।
नेपालका लागि सन्दीप लामिछाने र नन्दन यादवले दुई–दुई विकेट लिएका छन्। त्यस्तै करण केसी र ललित राजवंशीले एक–एक विकेट हात पारेका छन्। नेपाली बलरको कसिलो बलिङका कारण ओमानका ब्याटरले ठूलो साझेदारी बनाउन सकेका छैनन्।
यसअघि टसपछि पहिले ब्याटिङ गरेको नेपालले निर्धारित ५० ओभरमा आठ विकेट गुमाएर २६३ रन बनाएको थियो। नेपालका कप्तान रोहित पौडेलले सर्वाधिक ६१ रन बनाए। उनले ६७ बलमा तीन चौका र एक छक्का प्रहार गरे।
त्यस्तै करण केसीले आक्रामक ब्याटिङ गर्दै १६ बलमा ४० रन बनाए। अर्जुन कुमालले पनि ४० रनको योगदान दिए। बसिर अहमद र इशान पाण्डेले समान ३७ रन बनाउँदा दीपेन्द्रसिंह ऐरीले २२ रन जोडे।
ओमानका लागि शाह फेसल, शकील अहमद र करण सोनाभालेले समान दुई–दुई विकेट लिए भने हस्नेन शाहले एक विकेट हात पारे।
नेपालले ब्याटिङमा बनाएको प्रतिस्पर्धात्मक योगफलपछि बलिङमा पनि उत्कृष्ट प्रदर्शन गरेको छ। खेलको यही अवस्था कायम रहे नेपालले ओमानविरुद्ध जित निकाल्ने सम्भावना बलियो देखिएको छ।

















प्रतिक्रिया