२३ घण्टामै २३ लाख भ्युज संगै ट्रेण्डिङ २मा, ‘आ बाट आमा २’को ट्रेलरले जित्यो दर्शकको मन


काठमाडौं – चलचित्र ‘आ बाट आमा २’को ट्रेलरले रिलिज भएको २३ घण्टामै २३ लाखभन्दा बढी भ्युज पाएको छ। ओएसआर डिजिटलको युट्युब च्यानलमार्फत सार्वजनिक ट्रेलर दर्शकको उल्लेख्य साथ पाउँदै ट्रेन्डिङमा उक्लिएको हो। ट्रेलरले ३५ हजारभन्दा बढी लाइक र २ हजार ९ सयभन्दा बढी कमेन्टसमेत पाएको छ। संगै युटुबको ट्रेण्डिङ २ स्थान कब्वजा गरेको छ ।

ट्रेलरमा पल शाह, मलिका महत र विपना थापाको भावुक अभिनयले दर्शकको ध्यान खिचेको छ। विशेषगरी आमाछोराबीचको आत्मीय सम्बन्ध, पारिवारिक माया र संघर्षको कथाले दर्शकको मन छोएको प्रतिक्रिया सामाजिक सञ्जालमा देखिएको छ। पल शाह र मलिका महतको जोडीलाई पनि दर्शकले रुचाएका छन्।

४ मिनेट ५९ सेकेन्ड लामो ट्रेलरमा कृष्णको भूमिकामा रहेका पल शाहले कुकुरको बच्चालाई गाडीले किच्नबाट बचाएको दृश्यले दर्शकको ध्यान खिचेको छ। आफ्नो बच्चा बचाउन भुकिरहेको कुकुरको पीडा कसैले नसुने पनि कृष्णले बच्चालाई बचाएको दृश्यलाई दर्शकले भावुक क्षणका रूपमा लिएका छन्।

त्यस्तै, साइग्रेस पोखरेल र आमाको भूमिकामा रहेकी विपना थापाको अभिनयको पनि प्रशंसा भइरहेको छ। आधाको भूमिकामा देखिएकी मलिका महतको अभिनयसमेत प्रभावशाली देखिन्छ। आकाश श्रेष्ठको भूमिका खलनायकको हुन सक्ने संकेत ट्रेलरले गरेको छ भने गजित विष्ट ग्यारेज सञ्चालकको भूमिकामा देखिएका छन्।

आर्थिक अभावका कारण भगवान्सँग हात जोडेर एक लाख रुपैयाँ मागेको दृश्यले पात्रहरूको संघर्ष र निराशालाई चित्रण गरेको छ। आमाबुबाले सन्तानप्रति गर्ने निःस्वार्थ माया र सन्तानले आमाबुबाप्रति देखाउने प्रेमलाई चलचित्रले भावनात्मक रूपमा प्रस्तुत गर्ने संकेत ट्रेलरले गरेको छ।

चलचित्रको कथा, पटकथा तथा निर्देशन चन्द्र पन्तले गरेका हुन्। ट्रेलर सार्वजनिक भएपछि कलाकारहरूको अभिनय र निर्देशकको कामको फिल्मकर्मीहरूले समेत प्रशंसा गरिरहेका छन्।

चलचित्रमा पल शाह, मलिका महत, विपना थापा, रिश्ता गुरुङ, निकिता आचार्य, आकाश श्रेष्ठ, सविन श्रेष्ठ, प्रदीप रावत, साइग्रेस पोखरेल, गजित विष्ट, नरेन खड्का र दिलिप अखेडालगायत कलाकारको अभिनय रहेको छ। चलचित्रको लेखनमा रोशन भट्ट र चन्द्र पन्तले सहकार्य गरेका छन् भने संवाद रोशन भट्टको रहेको छ।

करण सिंह फिल्मको प्रोडक्सन एक्जिक्युटिभ रहेको चलचित्रमा नवराज उप्रेतीको छायांकन, बाबुल गिरीको संगीत, गम्भीर विष्टको नृत्य निर्देशन तथा साहिल खान र मिलन श्रेष्ठको सम्पादन रहेको छ। ओएसआर डिजिटल चलचित्रको डिजिटल पार्टनर रहेको छ भने नेपालभर वितरणको जिम्मा आरआर फिल्म्सले लिएको छ।

यसअघि प्रदर्शनमा आएको ‘आ बाट आमा’ले घरेलु बक्स अफिसमा १३ करोड रुपैयाँभन्दा बढीको व्यापार गरेको थियो। पहिलो चलचित्रको सफलतापछि यसको सिक्वेल ‘आ बाट आमा २’प्रति दर्शकको अपेक्षा पनि बढेको छ। चलचित्र शुक्रबारदेखि प्रदर्शनमा आउने तयारीमा छ।