काजीको वैवाहिक जीवनमा नयाँ ट्विस्ट, बिपिन कार्कीको धमाकेदार इन्ट्रीसहित आयो ‘कबड्डी ५’को ट्रेलर


काठमाडौं – रामबाबु गुरुङको लेखन तथा निर्देशनमा बनेको बहुप्रतीक्षित नेपाली चलचित्र ‘कबड्डी ५ः आफ्टर द फाइनल म्याच’को ट्रेलर सार्वजनिक भएको छ। निर्माण टिमले ललितपुरस्थित लबिम मलमा कार्यक्रम आयोजना गर्दै चलचित्रको ट्रेलर सार्वजनिक गरेको हो।

सार्वजनिक ट्रेलरमा काजीको वैवाहिक जीवन, काजी र मैयाबीचको सम्बन्धका नयाँ आयाम तथा विपिन कार्कीको भूमिकालाई थप प्रस्ट र मनोरञ्जनात्मक रूपमा प्रस्तुत गरिएको छ। ट्रेलरमा बेरोजगारीबाट दिक्क भएका काजी, बीके र छन्त्यालले मुस्ताङमा ‘शान्ति होटल’ खोलेर नयाँ व्यवसाय सुरु गरेको देखाइएको छ।

तर, उनीहरूको जीवनमा नयाँ व्यवसायसँगै कथाले अप्रत्याशित मोड लिन्छ। सृजना गुरुङले निर्वाह गरेको नयाँ मैयाको पात्रसँग काजीको विवाह भएको दृश्यले दर्शकमाझ थप कौतुहलता जगाएको छ।

त्यस्तै, काजीको टोली र गाउँमा प्रवेश गरेको विपिन कार्कीको रैथाने गुन्डा समूहबीचको टकराव, एक्सन र कमेडीले ट्रेलरलाई थप रोमाञ्चक बनाएको छ। ट्रेलरको अन्त्यतिर काजी र मैया एउटै गाडीमा कतै गइरहेको दृश्यले उनीहरूको सम्बन्ध र कथाको आगामी मोडबारे दर्शकलाई थप जिज्ञासु बनाएको छ।

यसअघि सार्वजनिक टिजरले पनि दर्शकमाझ चलचित्रप्रति उत्सुकता बढाएको थियो। काजी र मैयाको जीवनमा आउने नयाँ मोड, बीकेको प्रविधिसँगको रमाइलो सम्बन्ध र विपिन कार्कीको जबर्जस्त इन्ट्री टिजरका मुख्य आकर्षण थिए। त्यतिबेला धेरै दर्शकले मिरुना मगरले निर्वाह गरेको शान्ति मिसको पात्रलाई खोजेका थिए। अहिले सार्वजनिक ट्रेलरमा उनी पनि देखिएकी छन्।

काजीको पारिवारिक जीवनमा आउने ट्विस्ट, शान्ति मिसको पुनरागमन र विपिन कार्कीको दमदार भूमिकाले ‘कबड्डी ५’प्रति दर्शकको प्रतीक्षा झन् बढाउने देखिन्छ।

नेपाली बक्स अफिसमा सफलताको इतिहास बनाएका ‘कबड्डी’का अघिल्ला चारवटै शृङ्खला सुपरहिट तथा ब्लकबस्टर बनेका थिए। यही सफलतालाई निरन्तरता दिने अपेक्षासहित निर्माण गरिएको ‘कबड्डी ५ः आफ्टर द फाइनल म्याच’ यस वर्षको बहुप्रतीक्षित चलचित्रमध्ये एक हो। चलचित्र कात्तिक ६ गतेदेखि प्रदर्शनमा आउनेछ।

चलचित्रमा दयाहाङ राई, विपिन कार्की, विजय बराल, बुद्धि तामाङ, रिश्मा गुरुङ, सृजना गुरुङ, पुष्कर गुरुङ, माओत्से गुरुङ, कमलमणि नेपाल, मिरुना मगर, कविता आले, अरुणा कार्की, शिशिर बाङ्देल, विष्णु मोक्तान, प्रमिला राई, सुरज यादव, रमेश बज्राचार्य, हरि मिजर, पञ्च सुब्बा गुरुङ, घनु जोशी, सुमित्रा पेहिम, अनुप न्यौपाने, मधु मिजार, हेमन्त बुढाथोकी, विक्रम श्रेष्ठ, सरोज अर्याल र शेखर चापागाईंलगायत कलाकारको अभिनय रहेको छ।

बासुरी फिल्म्सको प्रस्तुतिमा बनेको चलचित्रमा निर्देशक गुरुङसहित मणिराम पोखरेल, मधु मिजार र विशाल गुरुङ (एलजी)को लगानी छ। सागर राज कार्यकारी निर्माता रहेको चलचित्रमा कालीप्रसाद बास्कोटा, अधा सुर र झुमा लिम्बूको संगीत, सञ्जय लामाको छायांकन तथा सुरेन्द्र पौडेलको सम्पादन रहेको छ।

चलचित्रका मुख्य सहायक निर्देशक सोमनाथ खनाल र तारानाथ न्यौपाने हुन्। नेपालमा चलचित्रको वितरण ब्यांकटेश इन्टरटेनमेन्ट र टी फल्कले गर्नेछन् भने अन्तर्राष्ट्रिय वितरणको जिम्मेवारी सेभेन सिज इन्टरनेसनलले लिएको छ।