सुनिल थापाको अन्तिम चलचित्र ‘हिमालयन गोल्ड’को ट्रेलर सार्वजनिक


काठमाडौं – नेपाली चलचित्र ‘हिमालयन गोल्ड’को ट्रेलर सार्वजनिक भएको छ। नेपालको इतिहास, संस्कृति र मौलिकतालाई विश्वमाझ चिनाउने उद्देश्यसहित निर्माण गरिएको सर्भाइभल कथामा आधारित चलचित्र आगामी मंसिर ४ गतेदेखि प्रदर्शनमा आउने भएको छ।

दिवंगत दिग्गज अभिनेता सुनिल थापाको अभिनय रहेको यो चलचित्र उनको अन्तिम चलचित्रका रूपमा सार्वजनिक हुन लागेको हो। दशकौँसम्म नेपाली चलचित्र क्षेत्रमा योगदान दिएका थापाको अभिनयलाई यस चलचित्रमार्फत दर्शकले पुनः पर्दामा हेर्न पाउनेछन्। निर्माण पक्षले उनको अन्तिम प्रस्तुतिलाई नेपालसहित अन्तर्राष्ट्रिय बजारमा पुर्‍याउनु उनको कलात्मक विरासतप्रतिको सम्मान भएको जनाएको छ।

चलचित्रमा सुनिल थापासँगै परीक्षा लिम्बू, कर्मा शाक्य, राहुल एन. मुखिया र सजन थापाको मुख्य भूमिका रहेको छ।

ट्रेलर सार्वजनिक कार्यक्रममा निर्देशक धिराज राजवंशीले चलचित्रलाई परम्परागत नेपाली फिल्मभन्दा फरक शैलीमा निर्माण गरिएको बताए। उनका अनुसार चलचित्रमा गीत नरहे पनि यसको पृष्ठभूमि संगीतले दर्शकलाई कथासँग जोड्नेछ। प्राविधिक पक्षमा अन्तर्राष्ट्रिय टोलीसँग सहकार्य गरिएको पनि उनले जानकारी दिए।

‘हिमालयन गोल्ड’ भारत, जापान र अस्ट्रेलियालगायतका देशमा स्थानीय भाषाका सबटाइटलसहित नेपाली भाषामै प्रदर्शन हुनेछ। निर्देशक राजवंशीका अनुसार भारतको प्रतिष्ठित वितरण कम्पनी एए फिल्म्सले चलचित्र हिन्दीमा डब गर्ने विकल्प दिए पनि मौलिकता जोगाउन नेपाली भाषामै प्रदर्शन गर्ने निर्णय गरिएको हो।

मुख्य अभिनेत्री परीक्षा लिम्बूले ‘हिमालयन गोल्ड’ आफ्ना अघिल्ला चलचित्रभन्दा फरक रहेको बताइन्। सामाजिक, पारिवारिक र प्रेमकथामा आधारित चलचित्रमा काम गरिसकेकी उनले यसपटक जीवनका सबै कुरा गुमाउँदा मानिसले कसरी संघर्ष गर्छ भन्ने विषयमा आधारित सर्भाइभल कथामा काम गर्न पाएको बताइन्। नेपालमा महिला प्रधान चलचित्र कम बन्ने भएकाले यो परियोजना आफ्ना लागि विशेष रहेको उनको भनाइ थियो।

अभिनेता कर्मा शाक्यले पनि चलचित्रको फरक कथावस्तुको प्रशंसा गरे। नयाँ निर्देशक र नयाँ अवधारणामा काम गर्न आफू सधैँ उत्साहित रहने बताउँदै उनले महिला पात्रलाई केन्द्रमा राखेर चलचित्र निर्माण गरेकोमा निर्देशकप्रति आभार व्यक्त गरे।

‘हिमालयन गोल्ड’ले भारतीय बजारमा समेत ऐतिहासिक अवसर पाएको निर्माण पक्षको दाबी छ। चलचित्रको भारतभर प्रदर्शनका लागि मुम्बईमा एए फिल्म्सका संस्थापक तथा चर्चित वितरक अनिल थडानीसँग औपचारिक सम्झौता भइसकेको छ। ‘दिलवाले दुल्हनिया ले जाएंगे’, ‘बाहुबली’, ‘आरआरआर’, ‘केजिएफ: च्याप्टर २’ र ‘पुष्पा’जस्ता चर्चित चलचित्र वितरण गरिसकेको एए फिल्म्सले नेपाली चलचित्रलाई भारतीय बजारसम्म पुर्‍याउने भएको हो।

चलचित्रका वितरक तथा निर्माता नकिम उद्दिनले अन्तर्राष्ट्रिय बजारमा ‘हिमालयन गोल्ड’को सम्भावना बलियो रहेको बताए। भारतमा प्रदर्शनका लागि सम्झौता भइसकेको र जापानलगायतका देशमा पनि चलचित्रप्रति सकारात्मक चासो देखिएको उनको भनाइ छ।

नेपाली भाषामै अन्तर्राष्ट्रिय दर्शकमाझ पुग्ने लक्ष्य राखेको ‘हिमालयन गोल्ड’ले नेपाली चलचित्रको बजार विस्तारमा कस्तो प्रभाव पार्छ भन्ने चासो बढेको छ।