काठमाडौं – नेपाली चलचित्र ‘आ बाट आमा–२’ले प्रदर्शनअघि नै दर्शकमाझ चर्चा बटुलिरहेको छ। चलचित्रले पीजी (प्यारेन्टल गाइडेन्स) सर्टिफिकेट पाएको छ। यसको अर्थ १६ वर्षमुनिका बालबालिकाले अभिभावकको निगरानीमा चलचित्र हेर्नुपर्नेछ। चलचित्रको रनटाइम २ घण्टा ३७ मिनेट रहेको छ।
शुक्रबारदेखि देशभर प्रदर्शनमा आउने तयारीमा रहेको चलचित्रको ट्रेलर युट्युब ट्रेन्डिङको तेस्रो स्थानमा पुगेको छ। ४ मिनेट ५९ सेकेन्ड लामो ट्रेलरमा पल शाह, मलिका महत र विपना थापाको भावुक अभिनयले दर्शकको ध्यान खिचेको छ। विशेषगरी आमाछोराबीचको आत्मीय सम्बन्ध, पारिवारिक माया र जीवनका संघर्षलाई ट्रेलरमा प्रस्तुत गरिएको छ।
ट्रेलरमा कृष्णको भूमिकामा देखिएका पल शाहले कुकुरको बच्चालाई गाडीले किच्नबाट बचाएको दृश्यले भावुक बनाउँछ। आफ्नो बच्चा बचाउन भुकिरहेको कुकुरको पीडा कसैले नसुने पनि कृष्णले बच्चालाई बचाएको दृश्यलाई दर्शकले विशेष क्षणका रूपमा लिएका छन्।
त्यस्तै, साइग्रेस पोखरेल र आमाको भूमिकामा रहेकी विपना थापाको अभिनयको पनि चर्चा भइरहेको छ। आधाको भूमिकामा देखिएकी मलिका महतको अभिनय प्रभावशाली देखिन्छ। पल शाह र मलिका महतको जोडीलाई दर्शकले रुचाएका छन्। आकाश श्रेष्ठको भूमिका खलनायकको हुन सक्ने संकेत ट्रेलरले गरेको छ भने गजित विष्ट ग्यारेज सञ्चालकको भूमिकामा देखिएका छन्।
आर्थिक अभावका कारण भगवान्सँग हात जोडेर एक लाख रुपैयाँ मागेको दृश्यले पात्रहरूको संघर्ष र निराशालाई चित्रण गरेको छ। आमाबुबाले सन्तानप्रति गर्ने निःस्वार्थ माया र सन्तानले आमाबुबाप्रति देखाउने प्रेमलाई चलचित्रले भावनात्मक रूपमा प्रस्तुत गर्ने संकेत ट्रेलरले गरेको छ।
चलचित्रको कथा, पटकथा तथा निर्देशन चन्द्र पन्तले गरेका हुन्। ट्रेलर सार्वजनिक भएपछि कलाकारहरूको अभिनय र निर्देशकको कामबारे फिल्मकर्मी तथा दर्शकमाझ चर्चा भइरहेको छ।
चलचित्रमा पल शाह, मलिका महत, विपना थापा, रिश्ता गुरुङ, निकिता आचार्य, आकाश श्रेष्ठ, सविन श्रेष्ठ, प्रदीप रावत, साइग्रेस पोखरेल, गजित विष्ट, नरेन खड्का र दिलिप अखेडालगायत कलाकारको अभिनय रहेको छ। चलचित्रको लेखनमा रोशन भट्ट र चन्द्र पन्तले सहकार्य गरेका छन् भने संवाद रोशन भट्टको रहेको छ।
करण सिंह प्रोडक्सन एक्जिक्युटिभ रहेको चलचित्रमा नवराज उप्रेतीको छायांकन, बाबुल गिरीको संगीत, गम्भीर विष्टको नृत्य निर्देशन तथा साहिल खान र मिलन श्रेष्ठको सम्पादन रहेको छ। ओएसआर डिजिटल चलचित्रको डिजिटल पार्टनर रहेको छ भने नेपालभर वितरणको जिम्मा आरआर फिल्म्सले लिएको छ।
यसअघि प्रदर्शनमा आएको ‘आ बाट आमा’ले घरेलु बक्स अफिसमा १३ करोड रुपैयाँभन्दा बढीको व्यापार गरेको थियो। पहिलो भागको सफलतापछि सिक्वेल ‘आ बाट आमा–२’प्रति दर्शकको अपेक्षा बढेको छ। पारिवारिक सम्बन्ध, आमाको माया र भावनात्मक कथालाई केन्द्रमा राखिएको चलचित्र शुक्रबारदेखि देशभर प्रदर्शनमा आउनेछ।

















प्रतिक्रिया