सांसदहरूको कडा चेतावनी : साउदीका लागि प्रस्तावित राजदूत सुनारलाई भने– अब नाम फिर्ता लिनुस्।


काठमाडौं । साउदी अरबका लागि प्रस्तावित नेपाली राजदूत गिरीबहादुर सुनारलाई संसदीय सुनुवाइ समितिमा रहेका सत्तारूढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र प्रतिपक्षी दलका सांसदहरूले आफ्नो नाम फिर्ता लिन सुझाव दिएका छन्।

बुधबार संसदीय सुनुवाइका लागि उपस्थित भएका सुनारलाई राजदूत नियुक्तिसम्बन्धी निर्देशिकामा उल्लेखित उच्च नैतिक चरित्रको योग्यतामाथि प्रश्न उठाउँदै सांसदहरूले नाम फिर्ता लिन सुझाव दिएका हुन्।

नेकपाका सांसद वर्षमान पुन, रास्वपाका सांसद दीपक बोहरा, गजला समीम मिकरानी र पुनम अग्रवालले सुनारलाई नाम फिर्ता लिन वा निर्णयबारे पुनर्विचार गर्न आग्रह गरेका थिए।

सांसद पुनले समितिमा प्राप्त उजुरी र उजुरीकर्ताको भनाइलाई आधार बनाउँदै सुनारको उम्मेदवारी उपयुक्त नदेखिएको बताएका थिए। उनले सुनारलाई जवाफ दिन दबाब नदिई नाम फिर्ता लिन सुझाव दिएको स्पष्ट पारेका थिए।

जवाफमा सुनारले भने आफूमाथि पनि हिंसा भएको दाबी गर्दै आफूले महिला हिंसा नगरेको जिकिर गरेका थिए। फोनमा विवाद भएको विषयलाई महिला हिंसाको प्रमाणका रूपमा लिन नहुने उनको तर्क थियो। महिलाले रोएर आफ्नो कुरा राख्दैमा त्यसलाई प्रमाण मान्न नहुने भन्दै उनले आफूविरुद्धका आरोप अस्वीकार गरेका थिए।

रास्वपा सांसद दीपक बोहराले पनि सुनारलाई नाम फिर्ता लिन सुझाव दिएका थिए। गम्भीर आरोप सार्वजनिक भएका बेला राजदूत पदका लागि आवेदन दिनुको औचित्यमाथि उनले प्रश्न उठाएका थिए।

रास्वपा सांसद गजला समीम मिकरानीले वर्षमान पुनको सुझावमाथि विचार गर्न सुनारलाई आग्रह गर्दै महिलामाथिको हिंसालाई गम्भीर रूपमा लिनुपर्ने बताएकी थिइन्। अर्की रास्वपा सांसद पुनम अग्रवालले पनि समितिमा उठेका गम्भीर उजुरी र अडियो–भिडियो सामग्रीको प्रसंग उल्लेख गर्दै राजदूत पदका लागि उच्च नैतिकता आवश्यक रहेको बताएकी थिइन्।

यसैगरी, एमाले सांसद पद्मा अर्यालले पनि उच्च नैतिक चरित्र भएको व्यक्तिलाई मात्रै राजदूत नियुक्त गर्नुपर्ने धारणा राखेकी थिइन्। सुनारविरुद्ध व्यक्तिगत सम्बन्ध र आर्थिक लेनदेनसम्बन्धी उजुरी आएको उल्लेख गर्दै उनले नेपालको प्रतिनिधित्व गर्ने व्यक्तिको योग्यतामाथि प्रश्न उठाएकी थिइन्।

सांसद मधुकुमार चौलागाईंले भने सुनारमाथि प्रहरीमा परेको उजुरी, मिलापत्र भएको भनिएको घटना, आर्थिक लेनदेन र राजनीतिक आबद्धतासम्बन्धी विषयमा प्रश्न उठाएका थिए। उनले प्रहरीको बढुवा र सांसद पद मिलाइदिने भन्दै रकम असुलेको आरोपसम्बन्धी उजुरीबारे पनि स्पष्टीकरण मागेका थिए। यी विषयहरू समितिमा उठेका आरोप तथा प्रश्न हुन्।

संसदीय सुनुवाइ समितिले १३ देशका लागि प्रस्तावित राजदूतहरूको सुनुवाइ एक चरणमा सम्पन्न गरिसकेको छ। समितिले प्रस्तावित राजदूतहरूको नियुक्तिबारे निर्णय गर्ने तयारी गरिरहेको छ।

सुनारको हकमा भने सांसदहरूले नाम फिर्ता लिन सुझाव दिए पनि अन्तिम निर्णय संसदीय सुनुवाइ समितिको प्रक्रियाअनुसार हुनेछ।