१५ घण्टामै ‘कबड्डी ५’को ट्रेलर युट्युब ट्रेन्डिङ नम्बर १ मा


काठमाडौं । चलचित्र ‘कबड्डी ५ः आफ्टर द फाइनल म्याच’को ट्रेलर सार्वजनिक भएको १५ घण्टामै युट्युबको मुभिज चाटतर्फ ट्रेन्डिङ नम्बर १ मा उक्लिएको छ।

समाचार तयार पार्दासम्म ट्रेलरले करिब साढे १० लाख भ्युज बटुलिसकेको छ। ट्रेलरमा निर्देशक रामबाबु गुरुङ, काजीको भूमिकामा दयाहाङ राई तथा नयाँ पात्रका रूपमा देखिएका विपीन कार्कीको अभिनय र प्रस्तुतिलाई दर्शकले रुचाएका छन्। विशेषगरी विपीन कार्कीको नयाँ अवतारले दर्शकमाझ उत्सुकता बढाएको छ।

ट्रेलरमा काजीको वैवाहिक जीवन, मैयासँगको सम्बन्ध र जीवनमा आउने उतारचढावलाई रोचक ढंगले प्रस्तुत गरिएको छ। बेरोजगारीबाट दिक्क भएका काजी, बीके र छन्त्यालले मुस्ताङमा ‘शान्ति होटल’ सञ्चालन सुरु गरेपछि कथाले नयाँ मोड लिएको देखिन्छ। सिर्जना गुरुङको नयाँ मैयाका रूपमा प्रवेश, मिरुना मगर अर्थात् शान्ति मिसको झलक र विपीन कार्कीको इन्ट्री ट्रेलरका प्रमुख आकर्षण बनेका छन्।

रामबाबु गुरुङको लेखन तथा निर्देशनमा बनेको चलचित्र यही असोज ३० गतेदेखि देशभर प्रदर्शनमा आउनेछ। बाँसुरी फिल्म्सको प्रस्तुतिमा निर्माण भएको चलचित्रमा दयाहाङ राई, विपीन कार्की, विजय बराल, बुद्धि तामाङ, रिश्मा गुरुङ, सिर्जना गुरुङ, मिरुना मगरलगायत कलाकारको अभिनय रहेको छ।

‘कबड्डी’ शृङ्खलाको पुरानो स्वादसँगै नयाँ पात्र र कथाको ट्विस्ट समेटिएको ट्रेलरले चलचित्रप्रति दर्शकको उत्सुकता बढाएको छ।