मौसममा पश्चिमी वायुको प्रभाव कायमै, दुई प्रदेशमा बदली र वर्षाको सम्भावना


काठमाडौँ । देशमा पश्चिमी वायुको आंशिक प्रभाव कायमै रहँदा आज कोशी र गण्डकी प्रदेशका हिमाली क्षेत्रमा हल्का वर्षा तथा हिमपातको सम्भावना रहेको छ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशका हिमाली र पहाडी भूभागमा आंशिक बदली रहेको छ भने तराई क्षेत्रमा मौसम मुख्यतया सफा छ।

आज दिउँसो पनि हिमाली र पहाडी भूभागमा आंशिक बदली रहनेछ। तराई क्षेत्रमा भने मौसम मुख्यतया सफा रहने महाशाखाले जनाएको छ। कोशी र गण्डकी प्रदेशका हिमाली भूभागका एक–दुई स्थानमा हल्का वर्षा तथा हिमपात हुन सक्ने सम्भावना छ।

आज राति कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशका हिमाली क्षेत्रमा आंशिक बदली रहनेछ। देशका अन्य हिमाली तथा पहाडी भूभागमा मौसम मुख्यतया सफा रहने अनुमान गरिएको छ।

त्यस्तै, तराईका साथै उपत्यका र खोँचहरूमा भोलि बिहान केही स्थानमा हुस्सु तथा कुहिरो लाग्न सक्ने महाशाखाले जनाएको छ।

सोमबार पनि हिमाली र पहाडी भूभागमा आंशिक बदली रहने तथा कोशी प्रदेशका हिमाली क्षेत्रका एक–दुई स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना रहेको छ।